नेपाल–अमेरिका व्यापार तथा लगानी परिषद् बैठकमा के भयो सहमति ?

०३ असोज, काठमाडौं । यसै साता काठमाडौंमा सम्पन्न नेपाल– अमेरिका व्यापार तथा सम्झौता परिषद्को सातौं बैठकमा अमेरिकाले नेपालले सहायता चाहेका क्षेत्रको विस्तृत विवरण माग गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार बैठकमा अमेरिकाका तर्फबाट दक्षिण तथा मधय एसियाका लागि सहायक व्यापार प्रतिनिधि ब्रेन्डन लिन्चको नेतृत्वमा ११ सदस्यीय टोली नेपाल आएको थियो । नेपालको तर्फबाट वाणिज्य सचिवको नेतृतवमा १७ सदस्यीय टोलीले भाग लिएको थियो ।

मन्त्रालयका अनुसार अमेरिकाले नेपाललाई प्रदान गरिरहेको सौविध्यपूर्ण व्यापार सुविधा (नेपाल ट्रेड प्रिफेरेन्सल प्रोग्राम (एनटीपीपी) को समय अवधि बढाउन बैठकमा नेपालले प्रस्ताव गरेको थियो ।

यसमा अमेरिका सकारात्मक देखिएको छ । यो विषय अमेरिकी कंग्रेसको कार्यक्षेत्रमा पर्ने भएकाले यसका लागि विधायक तहमा संयुक्त रुपमा पहल गर्ने सहमति दुवै मुलुकबीच भएको छ ।

दुवै मुलुकबीच द्विपक्षीय आर्थिक सम्बन्ध बढाउँदै व्यापार तथा लगानीका क्षेत्र विस्तार गर्न दुवै पक्षबीच थप सहयोग आदान–प्रदान गर्ने विषयमा समेत सहमति भएको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालले विभिन्न क्षेत्रमा थप प्राविधिक सहायता उपलब्ध गराउन र प्रभावकारी बनाउन गरेको अनुरोध प्रति अमेरिकी पक्ष सकारात्मक देखिएको र नेपाललाई कुन क्षेत्रमा कस्तो सहायता चाहिएको हो, सोको प्रतिवेदन विस्तृत रूपमा उपलब्ध गराउन अमेरिकाले अनुरोध गरेको छ ।

यसका लागि कुटनीतिक माध्यमबाट पत्राचार गर्न अमेरिकी पक्षले नेपाललाई सुझाव दिएको छ । यसबीचमा नेपालमा लगानी प्रवर्द्धन गर्न कानुनी र प्रक्रियागत सुधार भएको भन्दै अमेरिकाले सन्तुष्टि व्यक्त गरेको समेत मन्त्रालयले जानकारी गराएको छ ।

यो परिषद्को ७ र्औं बैठक हो । आठौं बैठक अमेरिकामा सन् २०२५ मा गर्ने सहमति समेत भएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours