प्रदेश सरकार सुरुङको यात्रामा छ : मुख्यमन्त्री कार्की

०३ असोज,विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेश सरकार सुरुङभित्र रहेको बताएका छन् । संविधान दिवसमा अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘दायाँ कुम चलाउँदा संघीय सरकार ठोक्किने, बायाँ चलायो स्थानीय सरकार ठोक्किने, अलिकति उफ्रिएमा माथिको पर्खालमा ठोक्किने ।’

यस्तो परिस्थितिबाट प्रदेशलाई बलियो बनाउँदै आफ्ना अधिकारहरु खोज्दै जनतामा आशाको सञ्चार जागृत गराउन आफ्नो सरकार क्रियाशील रहेको उनको भनाइ छ ।

मुख्यमन्त्री कार्कीले संघीयता कार्यन्वयनको महत्वपूर्ण अंग प्रदेश भएको बताए । तीन तहको अधिकार बाँडफाँड नहुँदा समस्या प्रदेशले भोगिरहेको भन्दै उनले मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धितर्फ अघि बढाउने मुख्य दायित्व प्रदेशकै भएको जिकिर गरे ।

मुख्यमन्त्री कार्कीले आफ्नो नेतृत्वमा सरकार बनेपछि प्रदेशमा सुशासन र विकासका ढोकाहरु खोलिएको दाबी गरे ।

‘निर्माण सम्पन्न परियोजनाहरुको उद्घाटन, गुणस्तरीय सडकहरुको सञ्चालन र सेवाप्रवाहमा चुस्तताले थोरैमात्रामा भएपनि राहत प्रदान गर्ने कोसिस भएको छ’, उनले भने, ‘देशका दुई ठूला राजनीतिक शक्तिहरुबीचको सहकार्यबाट पनि नागरिकहरुमा उत्साह छाएको छ ।’

कोशी सरकारले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाएको छ । संविधान दिवसका अवसरमा आयोजित प्रभातफेरि विराटनगरको आदर्श स्कुलबाट सुरु भएर अस्पताल चोक, जलजला चोकबाट मेनरोड हुँदै गोल्छा चोकबाट पुन आदर्श स्कुलमा नै पुगेर समापन भएको थियो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आयोजना गरेको प्रभातफेरिमा १५ वटा जातजातिका झाँकीसहित निजामती कर्मचारी, विद्यार्थी, नेपाली सेना,सशस्त्र प्रहरी, नेपाल प्रहरी, बैँक तथा वित्तीय संस्थाका कर्मचारी,सदस्य, स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिलगायत सहभागी थिए ।

प्रभातफेरि पछिको औपचारिक समारोहमा संविधान दिवसको अवसरमा आयोजित निबन्ध प्रतियोगिता र वक्तृत्वकला प्रतियोगिताका बिजेताहरूलाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिएको थियो ।

लघुवित्त संरक्षणको माग

संविधान दिवसमा लघुवित्तका सदस्यहरूले लघुवित्त संरक्षणको आवाज उठाएका छन् । लघुवित्त वित्तीय संस्था विरुद्ध राजनीतिक हस्तक्षेप बढेको भन्दै लघुवित्तका सदस्यहरूले संविधान दिवसमा लघुवित्त संरक्षणको विषय उठाएका हुन् ।

९ औं संविधान दिवसको दिन बिहीबार बिहान विराटनगरमा निकालिएको प्रभातफेरिमा जीवन विकास लघुवित्त वित्तीय संस्था, फरवार्ड लघुवित्त, गुराँस र सपोर्टलगायत लघुवित्तका सदस्य र कर्मचारीले वित्तीय साक्षरतासहित लघुवित्त संरक्षण गर्न माग गरे ।

लघुवित्त सदस्यले ‘लघुवित्त हाम्रो घर हो, घर भाड्न पाइदैन, लघुवित्तलाई संरक्षण गर, लघुवित्त माथिको राजनीतिक हस्तक्षेप बन्द गरलगायतको प्ले कार्डसहित प्रभातफेरिमा सहभागी भएका थिए ।

You May Also Like

More From Author

+ There are no comments

Add yours