हेटौंडाबाट एक करोड बढी मूल्यको अवैध कपडा सहित दुई भारतीय पक्राउ

०३ असोज, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाबाट भन्सार छली ल्याएको एक करोड बढी मुल्यको अवैध लत्ताकपडा सहित भारतीय नागरिक पक्राउ परेका छन् ।

मकवानपुर प्रहरीले बुधवार १५ नम्बर वडाको रातोमाटेबाट अवैध कपडा नियन्त्रणमा लिएको थियो । रातोमाटे भारतीय सीमावर्ती बजार रक्सौलसँग जोडिएको बीरगञ्जबाट हेटौंडा प्रवेश गर्ने प्रमुख नाका हो ।

पूर्व–पश्चिम राजमार्ग हुँदै सुनसरीबाट हेटौंडादेखि काठमाडौंसम्म लैजान खोजिएको अवैध लत्ताकपडा बरामद गरी दुई जनालाई नियन्त्रणमा लिइएको मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजालले जानकारी दिए ।

डब्लूबी ४९ एन २१७८ नम्बरको भारतीय ट्रकमा ल्याइएको कपडा एक करोड ३५ लाख रुपैयाँ मुल्य बराबरको रहेको एसपी रिजालले बताए । प्रहरीले ट्रक चालक भारतको बिहार प्रदेशको मोतिहारी जिल्ला पुर्वी चम्पारण सपही बस्ने ३० वर्षीय जन्दार आलम र सहचालक बिहार, पुर्वी चम्पारण चौलाहा कलोनी बस्ने १९ वर्षीय मुना मियालाई पक्राउ गरेको हो ।

ट्रकभित्र प्रहरीले झुक्याउन आलुको बोरा राखिएको थियो । ट्रकमा ३ सय ४५ बोरा आलुको भन्सार बिल बनाएर प्रतिबोरा ५० किलोको दरले २ सय ६४ बोरा आलु राखिएको एसपी रिजालले जानकारी दिए ।

उनका अनुसार आलुको बोरा राखिएको सँगै ट्रकको भित्री भागमा ७४ वटा बोरामा तयारी कुर्ता, रोल सहितको सर्ट र पाईन्टको कपडाहरु ल्याइएको थियो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours