७ वैशाख अब ‘राष्ट्रिय याक दिवस’

०३ असोज, काठमाडौ । सरकारले प्रत्येक वर्ष वैशाख ७ गतेलाई ‘राष्ट्रिय याक दिवस’ का रूपमा मनाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले वैशाख ७ लाई याक दिवसका रूपमा मनाउने निर्णय गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले ३० भदौमा मन्त्रालयले तयार पारेको यस सम्बन्धी प्रस्ताव स्वीकृत गरेका थिए । याक तथा चौँरी संरक्षण, सम्वद्र्धन एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा यसको प्रवद्र्धन गर्ने उद्देश्यले राष्ट्रिय याक दिवस घोषणा गरी मनाउने निर्णय गरिएको कृषिमन्त्री अधिकारीले बताए ।

याक दिवस घोषणाले याकजन्य वस्तुको गुणस्तरीयता वृद्धि भई राष्ट्रिय आय वृद्धिमा योगदान दिन सक्ने र याक तथा चौँरी विकास र प्रवद्र्धनमा सहयोग पुग्ने तथा यसको संरक्षण, प्रवद्र्धन र विकासमा सघाउ पुग्ने विश्वास लिइएको मन्त्री अधिकारीको भनाइ छ ।

मन्त्रालयका अनुसार जंगली याकसँग स्थानीय गाईको ‘क्रस’ गरी घरपालुवा चौँरी विकास गरिने भएकाले जंगली याक संरक्षण आवश्यक रहेको हो ।

नेपालमा उत्पादन हुने विश्वप्रसिद्ध याक चिज ‘ओमेगा–३’ फयाट्टी एसिडको स्रोत रहेको, याकको दही प्रसिद्ध दुग्ध परिकारका रूपमा रहेको, चौँरीको दूधबाट बनेको छुर्पी हिमाली क्षेत्रका किसानको आम्दानीको प्रमुख स्रोतका रूपमा रहेको र हिमाली क्षेत्रको सभ्यताका रूपमा समेत याक रही आएको छ ।

याकलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले संरक्षित वन्यजन्तु सूचीमा राखेको छ । याक आनुवंशिक स्रोत केन्द्रले ७ वैशाखलाई ५०औं स्थापना दिवस ‘स्वर्ण जयन्ती’ का रूपमा मनाउने सन्दर्भमा याक तथा चौँरी संरक्षण र सम्वद्र्धनका लागि वैशाख ७ लाई राष्ट्रिय याक दिवस घोषणा गरी मनाउन उपयुक्त हुने निर्णय गरेको थियो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours