भूकम्पले भत्काएको राष्ट्र बैंकको थापाथली भवन बल्ल पुनर्निर्माण सकियो

०३ असाेज, काठमाडौं । नेपाल राष्ट्र बैंकको थापाथलीस्थित भवन पुनर्निर्माण बल्ल सम्पन्न भएको छ । भवन निर्माणको जिम्मा पाएको समानान्तर जेभीले उक्त भवन निर्माण सम्पन्न गरेको हो ।

योसँगै शनिबार उक्त भवन राष्ट्र बैंक व्यवस्थापनलाई औपचारिक रूपमा हस्तान्तरण गर्ने तयारी गरिएको छ । राष्ट्र बैंक व्यवस्थापनलाई उक्त भवन हस्तान्तरण गर्न लागिएको हो । यसका लागि नवनिर्मित भवन परिसरमा विशेष कार्यक्रम आयोजना गर्दैछ ।

२०७२ सालको भूकम्पबाट उक्त भवन क्षतिग्रस्त भएको थियो । उक्त भवन पुनर्निर्माणका लागि तत्कालीन गभर्नर डा. चिरञ्जीवी नेपालले २०७५ असोज ५ गते शिलान्यास गरेका थिए । २०७५ फागुनमा तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उक्त भवनको ठेक्का लगाएको थियो । कुल ४२ रोपनी तीन आना दुई पैसा क्षेत्रफलमा फैलिएको सो क्षेत्रमा बनेको ६ तले उक्त भवन निर्माणका लागि समानान्तरसँग एक अर्ब ७७ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

अहिले भवन निर्माणको ठेक्का लगाउने पुनर्निर्माण प्राधिकरणको समय सकिएको छ । प्राधिकरणको बाँकी कामको जिम्मेवारी पाएको सहरी विकास तथा भवन निर्माण विभागले उक्त भवन राष्ट्र बैंकलाई हस्तान्तरण राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलले जानकारी दिए ।

भूकम्पअघि राष्ट्र बैंकले थापाथलीस्थित उक्त भवनलाई ढुकुटी तथा बैंकिङ कार्यालयको रूपमा प्रयोग गर्दै आएको थियो । नयाँ बनेको उक्त भवन पनि सोही रूपमा तयार गरिएको राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलले बताए । उक्त भवनको दुई तला बेसमेन्टमा रहेको छ ।

सबैभन्दा तल्लो तलामा ढुकुटी र त्योभन्दा माथिल्लो तलामा पार्किङ गर्नेगरी डिजाइन तयार गरिएको छ । यस अन्तर्गत मुख्य बैंकिङ कार्यालय भवन, चमेना गृह, हेल्थ क्लब र सेक्युरिटी समेत गरी छुट्टाछुट्टै ब्लक रहेका छन् ।

राणाकालीन दरबार भएको कारणले उक्त भवनलाई पुरानै डिजाइनमा बनाउन पुरातत्त्व विभागले निर्देशन दिएको थियो । विभागको स्वीकृतिमा पुरानै शैली र डिजाइनमा उक्त भवन निर्माण गरिएको राष्ट्र बैंकले जनाएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours