मोदी र ट्रम्पबिच अर्को हप्ता भेटघाट हुने

०२ असोज, वासिङ्टन डीसी ।अमेरिकी पूर्व राष्ट्रपति तथा रिपब्लिकन पार्टीका तर्फबाट नोभेम्बरमा हुन लागेको राष्ट्रपति निर्वाचनका उम्मेदवार डोनाल्ड ट्रम्पले आउँदो हप्ता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने भएका छन् ।

मोदी आगामी हप्ता तीन दिने अमेरिका भ्रमणमा जाँदैछन् । उनी सेप्टेम्बर २१ देखि २३ गतेसम्म अमेरिका भ्रमणमा रहनेछन् । यसै क्रममा मोदीसँग आफूले भेट्ने ट्रम्पले भनेका छन् । भेटघाटबारे ट्रम्पले धेरै जानकारी उपलब्ध गराएका छैनन् । मोदी अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्न लागेको क्वाड सम्मेलनमा भाग लिन अमेरिका जान लागेका हुन् ।

क्वाड लिडरहरूको सम्मेलनमा नरेन्द्र मोदी बाहेक अस्ट्रेलियाका प्रधानमन्त्री एन्टोनी अल्बानीज र जापानी प्रधानमन्त्री फुमियो किशिदा पनि सहभागी हुनेछन् । चार नेताहरूको यो चौथो शिखर सम्मेलन हो । सम्मेलनमा नेताहरूले विगत एक वर्षमा भएका कामको प्रगतिको समीक्षा गर्नेछन् ।

यसमा नेताहरूले इन्डो–प्यासिफिक क्षेत्रका देशहरूलाई उनीहरूको विकास लक्ष्यहरू पूरा गर्न मद्दत गर्न आगामी वर्षको एजेन्डा तय गर्नेछन् । आगामी वर्ष हुने क्वाड सम्मेलनको आयोजक भारत हुनेछ । क्वाड समूहमा भारत, अमेरिका, जापान र अस्ट्रेलिया रहेका छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours