आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष शुरु

०२ असाेज, काठमाडाैं । आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष शुरु भएको छ । बुधबार प्रतिपदा तिथि परेको छ । आज प्रतिपदा (परेवा) तिथिको श्राद्ध गरेपछि सोह्र श्राद्ध शुरु हुन्छ । आज पूर्णिमा तिथि ८ बजेर ४३ मिनेटसम्म रहने र त्यसपछि प्रतिपदा तिथि लाग्ने भएको छ ।

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत भएका पितृलाई श्रद्धा गर्दै तर्पण, पिण्डदान र सिदादान गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिएको हो । यो अवधिलाई अपर, प्रेत पक्ष आदि पनि भन्ने गरिन्छ ।

आमाबाबु नहुनेले यो पक्षभरि नियममा बस्ने र पितृमध्ये एकको तिथिलाई आधार मानेर श्राद्ध गरिन्छ । कुनै कारणवश तिथिमै श्राद्ध गर्न नसके पितृ पक्षको अन्तिम दिन ‍‍आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने धर्मशास्त्रविद् बताउँछन् । यो समयमा पनि सोह्र श्राद्ध गर्न अडकिए कार्तिककृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ ।

पितृ पक्षमा पितृले आश गरेर बस्ने शास्त्रीय मान्यता छ । सोह्रश्राद्ध गर्दा पितृप्रति गर्नुपर्ने श्रद्धा हुने र पितृऋणबाट पनि मुक्त भइने धार्मिक विश्वास रहेको छ ।

सोह्र श्राद्धमा बुबा तर्फका तीन र आमा तर्फका तीन पुस्तालाई पिण्ड दिएर श्रद्धा अर्पण गरिन्छ । यो श्राद्ध अपराह्नकालमा गर्ने विधान रहेको धर्मशास्त्रमा उल्लेख छ ।

पितृ पक्ष सकिनासाथै दुर्गा पक्ष अर्थात् बडा दशैँ शुरु हुन्छ । ठूला पर्व वा चाड मनाउनुअघि पितृलाई तृप्त पार्न सोह्र श्राद्ध गर्ने गरिएको धर्मशास्त्रमा उल्लेख छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours