नौ अर्ब वैदेशिक लगानीको प्रतिबद्धता

०२ असोज, काठमाडौँ । चालु आर्थिक वर्षको भदौ महिनामा झन्डै नौ अर्ब रुपियाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार भदौ महिनामा १९१ परियोजनामार्फत आठ अर्ब ९७ करोड ८७ लाख ९० हजार रुपियाँ वैदेशिक लगानी प्रतिबद्धता आएको हो ।

गत साउन महिनामा विभिन्न देशका लगानीकर्ताले ५९ परियोजनामार्फत आठ अर्ब ५५ करोड ५० लाख रुपियाँ बराबरको लगानी प्रतिबद्धता गरेका थिए । भदौ महिनामा सबैभन्दा धेरै सूचना प्रविधिमूलक परियोजना, पर्यटन र सेवामूलकमा वैदेशिक लगानी प्रतिबद्धता आएको विभागको तथ्याङ्कले देखाएको छ । यस्तै भदौ महिनामा सबैभन्दा धेरै स्वचालित मार्गबाट ८६ करोड २५ लाख रुपियाँ आएको छ । ५२ वटा परियोजनामार्फत सो रकम भित्रिएको हो । स्वचालित मार्गबाट सबैभन्दा धेरै सूचना प्रविधिमूलक ३८, पर्यटनमूलक आठ, सेवामूलक तीन, उत्पादनमूलक दुई र पूर्वाधारमूलक एक परियोजनामा लगानी भित्रिएको हो । चालु आवको भदौ महिनामा सेयर पर्चेज एग्रिमेन्ट, सेयर सब्सव्रिmप्सन एग्रिमेन्ट र प्रविधि हस्तान्तरण शीर्षकमा थप ५९ करोड ६२ लाख ६२ हजार रुपियाँ लगानी प्रतिबद्धता आएको छ ।

यसैबिच आव २०८०/८१ मा ६१ अर्ब ९० करोड रुपियाँ वैदेशिक लगानी प्रतिबद्धता आएकोमा आठ अर्ब ४० करोड रुपियाँ भित्रिएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । आव २०७९/८० मा ३८ अर्ब प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएकोमा छ अर्ब १७ करोड रुपियाँ भित्रिएको थियो ।

विभागका अनुसार सुरुदेखि हालसम्म छ हजार ३६४ परियोजनामार्फत पाँच खर्ब २५ अर्ब १५ करोड ८७ लाख रुपियाँको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । नेपालमा लगानी गर्छु भनेर लगानीकर्ताले प्रतिबद्धता गरे पनि सो अनुपातमा रकम नभित्रिने गरेको बताइएको छ । प्रतिबद्धताको ३० देखि ३५ प्रतिशत रकम मात्र भित्रिने गरेको तथ्याङ्क छ । नेपाल राष्ट्र बैङ्कले गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन २०७९/८० अनुसार नेपालमा भित्रिने प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५९.७ प्रतिशत औद्योगिक क्षेत्रमा र ४०.२ प्रतिशत सेवा क्षेत्रमा रहेको देखिएको हो । औद्योगिक क्षेत्र अन्तर्गत जलविद्युत् क्षेत्रमा ३० प्रतिशत र उत्पादन क्षेत्रमा २९.४ प्रतिशत वैदेशिक लगानी रहेको तथ्याङ्कले देखाएको छ । मुलुकमा भित्रिने कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २६ प्रतिशत सेवा क्षेत्र अन्तर्गत बैङ्क तथा वित्तीय संस्था र बिमा कम्पनीमा रहेको तथ्याङ्क छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours