चक्रपथ विस्तार नहुँदा स्थानीयलाई सास्ती

०१ असोज, काठमाडौँ । चक्रपथको दोस्रो खण्ड कलङ्की–महाराजगन्ज सडक विस्तारको काम ६ वर्षदेखि अलपत्र छ । उक्त सडक विस्तारको काम अघि नबढ्दा स्वास्थ्यमा असर पुग्नका साथै व्यापार व्यवसाय नै चौपट बनेको स्थानीयको गुनासो छ । 

६ वर्षअघि चीनसँग सम्झौता भए पनि ५ वर्ष अघि उक्त सडक विस्तार गर्न भन्दै जताततै भत्काइएको थियो । तर अहिलेसम्म विस्तार हुन नसक्दा वर्षैभरि समस्याको जड बनेको छ । घाम लाग्दा धुलो उड्ने र पानी पर्दा हिलाम्य हुन्छ । जसले गर्दा सडक दुर्घटना हुने तथा ट्राफिक जामसमेत बढ्ने समस्या देखिएको छ । यही कारण स्थानीयबासी र यो खण्ड भएर आवतजावत गर्नेहरूले ५ वर्षदेखि निकै सास्ती खेप्नु परेको गुनासो गरेका छन् । 

बालाजु क्षेत्रका स्थानीय दीपेन्द्र विष्ट सरकारले सडक विस्तार नगर्दा ५ वर्षदेखि धुलो र हिलोले स्वास्थ्यमा असर पुग्नुका साथै व्यापार, व्यवसाय चौपट बनेको बताउँछन् । 

‘धुलोले व्यापक असर परेको छ । कहिल्यै टन्सिल नभएको मान्छेलाई टन्सिल भएको छ । मलाई कहिल्यै नभएको डस्ट एलर्जी भयो,’ विष्टले भने, ‘पानी नपर्दा धुलैधुलो हुन्छ । पानी पर्दा एकदमै हिलो हुनाले ठुलो समस्या भएको छ । यस्तोमा व्यापार कसरी हुन्छ ?’

सडक छेउमा रहेको ढलको ढकन नहुँदा झनै समस्या बढेको उनको भनाइ छ ।

सरकारलाई थुप्रै किसिमका कर तिरेको बदलामा केही पाउन नसकेको स्थानीयबासीको गुनासो छ । बालाजु क्षेत्रका अर्का स्थानीय सचिन प्रधान पनि धुलो, हिलोले मानिसको स्वास्थ्यमा असर पुगेको बताउँछन् । यसका साथै सडक मर्मत नहुँदा व्यापार व्यवसायमा ठुलो असर पुगेको प्रधानको भनाइ छ । 

‘मोटरसाइकल धेरैचोटी ढलमा खसिसक्यो । सडक खाल्डाखुल्डी भएका कारण धेरै पटक दुर्घटना भइरहेको छ । यो स्वयम्भूदेखि यताको सडक हिँड्न लायक छैन,’ विष्टले भने । मर्मत गर्ने भनेको धेरै वर्षपछि मात्रै भित्री लेन ग्राभेलिङ गरिएको र यसले अलि सहज भएको उनको भनाइ छ । 

‘सडकको भित्री लेन नेपाल सरकारले बनाउनुपर्ने बाँकी हाइवे चीनले बनाउनु पर्ने सम्झौता अनुसार पहिला भित्री लेन बनाएपछि मात्रै हाइवे बनाउने भनेर यो काम रोकिएको रहेछ,’ उनले भने, ‘६ वर्षपछि भित्री लेनमा ग्राभेलिङ गर्ने कार्य भएपनि पिच हुन अझै कति समय लाग्ने हो ?’ 

आफूले सरकारलाई थुप्रै किसिमका कर तिरेको बदलामा केही पाउन नसकेको स्थानीयबासीको गुनासो छ । बालाजु क्षेत्रका अर्का स्थानीय सचिन प्रधान पनि धुलो, हिलोले मानिसको स्वास्थ्यमा असर पुगेको बताउँछन् । यसका साथै सडक मर्मत नहुँदा व्यापार व्यवसायमा ठुलो असर पुगेको प्रधानको भनाइ छ । 

‘धुलोले मानिसको स्वास्थ्यमा निकै असर गरेको छ,’ प्रधानले भने, ‘बाटोमा धुलो भएर चौबिसै घण्टा बसिसक्नु छैन । वर्षामा हिलोले हिँड्न सक्ने अवस्था हुँदैन । व्यवसायमा असर पुगेको छ । मान्छे हिँड्ने बाटो छैन, कसरी ग्राहक आउँछन् ?’

सरकारले कलङ्की–महाराजगन्ज सडक विस्तारको काम तत्काल अगाडि बढाउनु पर्ने प्रधानको भनाइ छ ।

सवारी चालक प्रकाश श्रेष्ठ सडक खाल्डाखुल्डी भएका कारण सवारी चलाउन असहज भइरहेको बताउँछन् ।  ‘वर्षामा खाल्डाखुल्डीमा पानी जम्छ । रोक्न भनेको ठाउँमा गाडी रोकिँदैन र दुर्घटना हुने सम्भावना ज्यादा हुन्छ । हिलो भएकाले पैदलयात्री पनि गाडी गुड्ने सडकमा हिँडिरहेका हुन्छन्,’ श्रेष्ठले भने, ‘बाटो साँघुरो छ, देखिँदैन यसले गर्दा हामीलाई गाडी चलाउन निकै गाह्रो छ ।’ 

सरकारले छिटोभन्दा छिटो सडक विस्तार गर्नुपर्ने चालकको श्रेष्ठको पनि माग छ ।

टेम्पो चालक महेन्द्र विश्वकर्मा बाटोमा खाल्डाखुल्डी मात्रै पुरिदिए पनि तीनपाङ्ग्रे सवारी चलाउन सहज हुने बताउँछन् । ‘खाल्डाखुल्डी हुँदा तीनपाङ्ग्रे सवारी चलाउन झनै गाह्रो छ । खाल्डो मात्रै पुरिदिए पनि हामीलाई निकै सहज हुने थियो । वर्षामा हिलोले हिउँदमा धुलोले समस्या भएको छ,’ विश्वकर्माले भने । 

अगाडि बढाउने तयारी 

सडक भत्काउन सुरु गरेको ५ वर्षपछि चक्रपथको दोस्रो खण्ड कलङ्की–महाराजगन्ज ८.२ किलोमिटर सडक विस्तारको प्रक्रिया अगाडि बढ्ने भएको छ । भदौ ६ गते नेपाल र चीन सरकारका प्रतिनिधिबिच सडक विस्तारमा सहयोग गर्ने सम्बन्धी पत्रमा हस्ताक्षर गरेसँगै निर्माणको प्रक्रिया अघि बढ्ने भएको हो । 

अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले यो सडकखण्ड विस्तारका लागि चीन सरकारसँगको अनुदान सहमति भएको बताए । चीन सरकारको अनुदानमा बन्न लागेको हुँदा के कति लागत लाग्ने चीन सरकार आफैँले बेहोर्ने भट्टराई बताउँछन् । 

नेपालका तर्फबाट अर्थ सचिव डा. रामप्रसाद घिमिरे र चीनको तर्फबाट चीन अन्तर्राष्ट्रिय विकास सहयोग नियोगका उपाध्यक्ष याङ वेइहुनले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

दोस्रो चरणमा कलङ्कीदेखि चाबहिल खण्ड विस्तारको योजना भए पनि महाराजगन्जमा जग्गा प्राप्तिमा समस्या भएपछि वसुन्धरा पुलसम्म मात्रै यो खण्ड विस्तार गर्ने योजना रहेको अर्थ मन्त्रालयले जनाएको  छ ।

अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले यो सडकखण्ड विस्तारका लागि चीन सरकारसँगको अनुदान सहमति भएको बताए । चीन सरकारको अनुदानमा बन्न लागेको हुँदा के कति लागत लाग्ने चीन सरकार आफैँले बेहोर्ने भट्टराई बताउँछन् । 

‘यो सडक चीन सरकारको अनुदानमा बन्ने हो । के कति लागत लाग्छ, सबै चीन सरकारले आफैँ निर्धारण गरेर खर्च गर्नेछ,’ भट्टराईले भने ।

यो सडक विस्तारका लागि २०७५ मा पनि दुई देशबिच सम्झौता भएको थियो । तर त्यसयता भत्काउने बाहेक विस्तारको कुनै काम अगाडि बढेन । २०७९ फागुनमा पनि दुई महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्ने चीनको हेनान कम्युनिकेसन्स प्लानिङ एन्ड डिजाइन इन्स्टिच्युट कम्पनीको प्राविधिक टोली नेपाल आएको थियो । तर उक्त टोलीले अध्ययन गरेर रिपोर्ट नबुझाइ फर्किएको थियो । 

अब भने चीनले आफैँ सर्भे गरेर डीपीआर तयार गर्ने भएको सडक विभागका सूचना अधिकारी अमितकुमार शर्माले बताए । 

‘यो चीनको अनुदान लागतमा बन्न लागेको हो । डीपीआर तयार गरेपछि चीनले  ठेक्का आह्वान गर्नेछ । तर साइड साइडका रोड भने सडक विभाग आँ फैले बनाउनुपर्ने छ,’ शर्माले भने ‘आयोजना निर्माणमा साइट क्लियरेन्स गर्ने र ठेक्का लागिसकेपछि परियोजना कार्यान्वयन गर्ने जिम्मेवारी मात्रै नेपालको हो । डीपीआर बनाउनेदेखि ठेक्का लगाउने सम्मको जिम्मा चीनले गर्नेछ ।’

चक्रपथ विस्तार आयोजनाले १४ जेठ २०७५ मा सूचना जारी गर्दै यो खण्डमा सडक सीमा अतिक्रमण गरेर बनाइएका संरचना हटाउन भनेको थियो । त्यसपछि विभागले विद्युतका पोल हटाइसकेको र अन्य समस्या नरहेको विभागका सूचना अधिकारी शर्माको बताए । 

‘अहिलेसम्म चीनको पर्खाइका थियौँ । चीनले काम अगाडि नबढाउँदा विस्तारको काम रोकिएको थियो,’ शर्माले भने, ‘प्रक्रियागत चरण निकै लामो भएको छ । यो सडक विस्तारका लागि द्विपक्षीय कूटनीतिक पहल गर्न आवश्यक रहेको  छ ।’

यसअघि चीनकै सहुलियत ऋणमा चक्रपथ पहिलो खण्ड कोटेश्वर–कलङ्की १०.३९ किलोमिटर ८ लेनमा विस्तार गरिएको थियो ।  

You May Also Like

More From Author

+ There are no comments

Add yours