अनन्त चतुर्दशीव्रत र कुमारी, इन्द्रजात्राको छोटकरीमा जानकारी यस प्रकार रहेको छ।

०१ असोज, काठमाडौं । मिति २०८१ साल आश्विन १ गते मंगलबार भाद्र महिनाको शुक्ल पक्षको चतुर्दशीलाई अनन्त चतुर्दशी भनिन्छ ।प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन काठमाडौं लगायत ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी परम्परागत रूपमा इन्द्रजात्रा पनि मनाईन्छ । भाद्रशुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठडयाइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवदेवताको पूजाआजा गरी आठदिनसम्म मनाइन्छ । यसरी ठडयाइएको लिङ्गोलाइ ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ ।

अनन्त चतुर्दशीका दिन भगवान् अनन्तको पूजा, आराधना र व्रत हुने गर्दछ ।यस व्रतको नामैबाट के लक्षित हुन्छ भने यो दिन कहिल्यै अन्त्य नहुने सृष्टिका कर्ता, धर्ता र संहर्ता निर्गुण ब्रह्मको भक्तिको दिन हो । यो दिन भक्तगणले लौकिक कार्यकलापहरूबाट मनलाई हटाएर ईश्वरभक्तिमा अनुरक्त हुने दिन हो। यस दिन वैदिक मन्त्रोच्चारणपूर्वक भक्तिको स्मृतितन्तु अनन्तडोरो बाँधिन्छ । यो व्रत धन पुत्रादिको कामनापूर्तिका निमित्त गर्ने चलन पनि छ । भनिन्छ जब पाण्डवहरूले जुवामा आफ्ना सारा सम्पत्ति र राजपाट हारेर वनमा कष्ट भोग्दै थिए, त्यति बेलै भगवान् श्रीकृष्णले आज्ञा गरेकाले धर्मराज युधिष्ठिरले आफ्ना भाइहरू तथा द्रौपदीका साथ पूर्ण विधि-विधानले यो व्रत लिएर, विधिपूर्वक अनन्तसूत्र धारण गरेका थिए । अनन्त चतुर्दशीको त्यसै व्रतको प्रभावले पाण्डवहरू समस्त सङ्कटहरूबाट मुक्त भए ।यस दिन अनन्तका रूपमा भगवान् हरिको पूजा गरिन्छ । रुवा, रेशमी धागो वा कुशले बनाएको चौधवटा गाँठो भएको अनन्तको निर्माण गरी पुरुषले दाहिने तथा नारीहरूले देब्रे हातमा अनन्त धारण गर्ने चलन छ । कपास वा रेशमको धागो कुङ्कुमको रङ्गद्वारा रंगाउने गरिन्छ । यो सामूहिक रूपमा नगरेर व्यक्तिगत रूपमा गरिने पूजा हो ।

यस पर्वमा कुनै सामाजिक धार्मिक उत्सव हुँदैन । अग्नि पुराणमा यसको विवरण छ । यस दिन कलशको जलमा स्थापना गरिएको तथा कुशबाट निर्मित भगवान श्रीहरिको प्रतिमाको पूजा गरिन्छ ।व्रत सम्पादन गर्ने व्यक्तिले चामलको एक पाथी पिठोबाट तैयार गरिएका रोटीहरू भगवानलाई अर्पण गरी पूजाको समाप्तिपछि त्यस नैवेद्यको आधा भाग ब्राह्मणलाई दान गर्नुपर्दछ भने बाँकी आधा भाग स्वयं आँफैले उपयोग गर्नुपर्दछ ।

यस दिन व्रत सम्पादन गर्ने व्यक्तिले प्रात:कालमा स्नानादि नित्यकर्महरूबाट निवृत्त भएर कलशको स्थापना गर्नुपर्दछ । कलशमाथि एउटा थाली राखी अष्टदल कमलको रचना गरी त्यसको केन्द्रमा कुशबाट निर्मित अनन्त विष्णु भगवानको प्रतिमा स्थापना गर्नुपर्दछ । यस पछि कुङ्कुम, केसरी वा बेसारबाट रंगाएर बनाएको काँचो धागोबाट १४ ग्रन्थियुक्त ‘अनन्त’को निर्माण गरी स्थापना गर्नुपर्दछ ।त्यसपछि ॐ अनन्तायनम: यस मन्त्रले भगवान् विष्णु तथा अनंतसूत्रको षोडशोपचार-विधिले पूजा गर्नुपर्दछ ।यो व्रत नदीको तटमा गर्नुपर्दछ र पूजाको समाप्तिपछि भगवान् हरिका कथाहरू सुन्ने गर्नुपर्दछ । भगवान् हरिलाई यसरी प्रार्थना गर्नुपर्दछ :-

वासुदेव, यस अनन्त संसाररूपी महासमुद्रमा डुबेका मानिसहरूको रक्षा गर्नुहवस् तथा तिनलाई अनन्तका रूपको ध्यान गर्नमा संलग्न गराउनुहवस्, अनन्तरूप भएका हजुरलाई नमस्कार यस मन्त्रले हरिको पूजा गरेर तथा आफ्नो हातको माथिल्लो भागमा(पाखुरामा) वा गलामा मन्त्रोच्चारणपूर्वक अनन्त भनी प्रतिष्ठा गरिएको धागो बाँधेर वा झुन्ड्याएर व्रत सम्पादन गर्ने व्यक्तिले अनन्त चतुर्दशीको व्रत समापन गरी प्रसन्नता प्राप्त गर्ने चलन विश्वास छ । यस धागोमा अनन्तले भगवान हरिको र सूत्रमा विद्यमान चौधवटा गाँठाले हरिद्वारा उत्पन्न १४ वटा स्वर्गादि लोकहरूको द्योतन गर्दछन् । पूजाको अन्त्यमा अनन्त भगवानको स्मरण गर्दै प्रार्थना गर्नुपर्दछ ।यो व्रत लिने व्यक्तिले अलिनो भोजन ग्रहण गर्नुपर्दछ।हेमाद्रिमा अनन्त व्रतको विवरण विशद रूपले प्रस्तुत गरिएको छ, त्यसमा कृष्णद्वारा युधिष्ठिरलाई बताइएको कौण्डिन्य ऋषि र तिनकी पत्नी शीलाको गाथा वर्णित छ । भगवान श्रीकृष्णको कथन छ – ‘अनन्त’ उनका रूपहरूमध्ये एउटा रूप हो, जसलाई काल भनिन्छ । अनन्त चतुर्दशीको व्रत धुप, दीप, चन्दन, अक्षता, पुष्प, नैवेद्यादि उपचारहरूका माध्यमले सम्पादन गरिन्छ ।यस व्रतको महात्म्य उल्लेख गर्दै के भनिएको छ भने यदि यस व्रतलाई १४ वर्षसम्म लिने हो भने व्रत सम्पादन गर्ने व्यक्तिले सजिलै विष्णुलोक प्राप्त गर्न सक्दछ ।यस व्रतलाई सम्पादन गर्ने सन्दर्भमा उपयुक्त तिथि र दिन निर्धारणका विषयमा मतमतान्तर छन् । माधवका मतमा यो व्रत मध्याह्नकालमा सम्पादन नगरेर सूर्योदयबाट गणना गरी प्रातःकालमा तीन मुहर्तसम्म अनन्त व्रतका लागि सर्वोत्तम मानिन्छ । तर निर्णयसिन्धुले यस मतको खण्डन गरेको छ ।यसमा उदय तिथिको प्रयोग नै उपयोगी मानिन्छ र मध्याह्नकालसम्म चतुर्दशी तिथि हुँदा अझ राम्रो मानिन्छ ।

एक पटक महाराज युधिष्ठिरले राजसूय यज्ञ गरे । त्यस समय यज्ञ मण्डपको सुन्दर ढङ्गले निर्माण त गरिएकै थियो, अझ त्यो मण्डप अद्भुत पनि थियो । त्यो यज्ञ मण्डप यत्ति मनोरम थियो कि जल र स्थलको भिन्नता नै प्रतीत हुँदैनथ्यो । जलमा स्थलको र स्थलमा जलको जस्तो प्रतीत हुन्थ्यो । साँच्चै सावधानी गर्दा पनि धेरै व्यक्तिहरू त्यस अद्भुत मण्डपमा झुक्किएका हुन्थे । एक पटक कतैबाट घुमघाम गर्दै दुर्योधन पनि त्यस यज्ञ-मण्डपमा आए र एक तलाउलाई स्थल मानेर त्यसमा लडे । द्रौपदीले यो देखेर ‘अन्धाको छोरो अन्धो’ भनेर उनको उपहास गरिन् । यसबाट दुर्योधन चिढिए । यो कुरो तिनको हृदयमा बाण झैं बिज्न थाल्यो । उनको मनमा द्वेष उत्पन्न भयो र उनले पाण्डवहरूलाई द्यूतक्रीडामा हराएर त्यस अपमानको बदला लिने विचार गरे । अनि हस्तिनापुरमा बोलाएर कल, छल र बलले उनले पाण्डवहरूलाई जुवामा पराजित गरे । जुवामा हारेपछि प्रतिज्ञानुसार पाण्डवहरूले बाह्र वर्षसम्म वनवासमा बस्नुपर्यो र किसिमकिसिमका कष्ट सहनु पर्यो ।

के हो पितृपक्ष ? हामिले दिएको पिण्ड पितृहरूले कसरी प्राप्त गर्दछन। २०८१ साल आश्विन २ गते बुधबार भाद्रशुक्लपक्ष पूर्णिमा तिथी प्रात: ८ / ४३ वजेसम्म त्यस उप्रान्त आश्विन कृष्णपक्ष प्रतिपदा तिथी आरम्भ हुने भएकोले सोह्रश्राद्ध आश्विन कृष्णपक्षबाट प्रतिपदा {परेवा } बाट आरम्भ भएर आश्विन १६ गते बुधबार औंसीश्राद्ध देखी पितृविसर्जन सोह्रश्राद्ध समापन हुनेभएकोले केही श्राद्ध सम्वन्धि छोटकरीमा जानकारी यस प्रकार रहेको छ। अहिले सोह्र श्राद्ध भएकोले श्राद्ध भनेको के हो ?के गर्नु पर्दछ ?हामीले दिएको पिण्ड पित्रिहरुले कसरि प्राप्त गर्दछन बुझेर गर्नु पर्दछ।

देशे काले च पात्रे च श्रद्धया विधिना च यत् । पितृनुद्दिश्य पिप्रेभ्यो दत्तं श्राद्धमुहाह्तमे” देशकाल पात्रमा श्रद्धाले विधिपूर्वक पितृहरुको नामोच्चारण गरी ब्राम्हणहरुलाई जो दान दिइन्छ त्यो दानलाई श्राद्ध भनिन्छ ।सोह्र श्राद्धमा एक जना पितृको मात्र नभएर दिवंगत भएका सम्पुर्ण पितृको सम्झनामा तर्पणदिइ श्राद्ध गर्ने गरिन्छ ।आफनै घर हुनेले घरमा र घर नहुनेले नदिको किनारमा अघिल्लो दिनदेखि नै चोखो बसेर, कपाल काटेर श्राद्ध गर्ने चलन छ ।ब्रम्हाजिले बताए अनुसार श्राद्ध भनेको श्रद्धा बिस्वाश हो।आफ्ना दिवंगत पित्रिहरुको कार्य हामीले दिएको पाउनु हुन्छ भनेर श्रद्धा र बिस्वासले उहाँ प्रति {ब्राम्हण ,गाई ,अग्नि ,नदि ,दुखि ,गरिव ,असहाय }मा समर्पण गर्नु श्राद्ध हो।विश्वको एक मात्र हिन्दू देश नेपाल हो । यो देश धर्म र संस्कृतिले धेरै धनी रहेको छ । प्रत्येक दिन जसो एक न एक पर्व परेकै हुन्छ । यसर्थ चान्द्रमानको पात्रोअनुसार वर्षमा चौबीस पक्ष रहेका हुन्छन् । यी नै चौबीस पक्षमध्ये आश्विन कृष्णपक्षलाई पितृपक्ष वा सामान्य बोलीचालीको भाषामा सोह्र श्राद्ध भनिन्छ । एक पक्षमा पन्ध्र तिथि हुने भएपनि भाद्र शुक्लपूर्णिमादेखि आश्विन औंसीसम्मका वा जमरे औंसीसम्म सोह्र तिथिमा श्राद्ध गरिने भएकाले यस समयमा गरिने श्राद्धलाई सोह्र श्राद्ध भनिएको हो ।यसलाई पार्वण श्राद्ध पनि भनिन्छ ।आजको बढ्दो आधुनिकता कारणले गर्दा कतिपय व्यक्तिहरुलाई यो कुरा थाहा नहुन पनि सक्दछ । हरेक व्यक्तिको जिम्मेवरी बढ्दै गएको कारणले गर्दा आफ्नो संस्कार, मूल्य र मान्यतालाई विसिंदै गइरहेको छ ।जबकी समाजबाट सदाचार, संस्कार, नैतिक शिक्षा, असल समाज तथा राष्ट्र निर्माणका लागि नभइ नहुने बस्तुको अभाव हुँदै गएको छ । पित्रिहरु खुसि हुनुभयो भने आयु ,पुत्र ,धन ,बिद्दा,राज्य ,सुख ,स्वर्ग ,मोक्ष प्राप्त हुन्छ।त्यसैले शास्त्रले पित्रिकर्मलाई अत्यन्त महत्व दिएको छ।

“न सन्ति पितरश्चेती कृत्वा मनसि यो नर।
श्राद्धम् न कुरुते तत्र तस्य रक्तं पिवन्ति ते “//

जसले पित्रिहरु छैनन् वा हुँदैनन् भनि श्राद्धादि कर्म गर्दैनन् भने त्यसको रगत पित्रिहरुले पिउँछन्।त्यसैले गर्नु पर्दछ।भगवान राम ,भिष्मपितामह आदिले पनि गर्नु भएको थियो।हाम्रो धार्मिक शास्त्रमा श्राद्ध धेरै किसिमका छन् । भविष्य पुराणमा श्राद्ध १२ वटा उल्लेख गरिएको छ । जुन यस प्रकार छ । यसमा दिनदिनै गरिने पहिलो नित्य श्राद्ध हो । त्यस्तै गरी दोस्रो वार्षिक एकोदिष्टदि नैमित्तिक श्राद्ध हो । तेस्रो आफ्नो इच्छा सिद्ध होस् भनि गरिने काम्य श्राद्ध हो । चौथो हो विवाह आदि अभ्युदयमा गरिने वृद्धि श्राद्ध हो । पाँचौ सपिण्डि श्राद्ध हो । छैठौं पार्वण श्राद्ध हो । सातौं गोठमा गरिने गोष्ठी श्राद्ध हो । आठौं पितृ तृप्ति विद्धानहरुको सुख प्राप्ति र शुद्धिका निमित गरिने ब्राह्ण भोजन शुद्धि श्राद्ध हो । नवौमा सिमान्तोनयन पुंसवन आदि संस्कारका निमित्त गरिने कमांङ्ग श्राद्ध हो । दशौं देबवताहरुको उद्देश्यले गरिने दैविक श्राद्ध ११ देशान्तरमा जाँदा ध्यूले गरिने यात्राश्राद्ध हो । र बाह्रौमा शरीर स्वस्थ्य होस् भनि गरिने पुष्टिश्राद्ध हो ।त्यस्तै गरी अर्को पाँच प्रकारको श्राद्ध रहेको छ ।यो श्राद्ध भने आजकाल धेरै आएको देखिन्छ ।यसमा प्रथम नित्य हो भने दोस्रो नैमितिक, तेस्रो काम्य, चौथो वृद्धि र पाँचौ पार्वण श्राद्ध हो। यी सबै मध्ये खास गरीकन हाम्रो समाजमा एकोदिष्ट श्राद्ध जुन आफ्ना पितृहरुलाई वार्षिक रुपमा मृत तिथिमा गरिने श्राद्धलाई एकोदिष्ट श्राद्ध भनिन्छ ।यो जुन पितृको मृत महिना पक्ष र तिथि याद गरी यो कार्य गरिन्छ ।त्यस्तै गरी सालको एकपटक पार्वण श्राद्ध गरिन्छ यो खास गरीकन सोह्र श्राद्ध भन्नाले प्रत्येक पक्षमा गरिने श्राद्धलाई बुझ्नुपर्छ ।शास्त्रमा यसलाई पार्वण श्राद्धको नामबाट बुझिन्छ । आफ्नो पितृहरुको जुन तिथि हो त्यही तिथिमा श्राद्ध गर्नु पर्छ ।

एक पार्वण श्राद्ध औंसी तिथिमा र आश्विन कृष्ण पक्षमा मृत्यु भएकाको तिथि श्राद्धलाई एक पार्वण श्राद्ध पनि भनिन्छ ।अन्त्यमा भन्नुपर्दा आश्विन कृष्णपक्षमा गर्नुपर्ने श्राद्धको महिमा बताउँदै श्रीमद्भागवत, महाभारत आदि पौराणिक ग्रन्थमा समेत बताइएको छ ।यस श्राद्धमा चार जना ब्राम्हण चाहिने भएकोले ब्राम्हणको प्रतीक स्वरुप कुशको ब्राम्हण थापिएको हो । पहिले पहिले पार्वण श्राद्ध गर्दा चार जना नै ब्राम्हण अगाडि राखेर पूजाआजा गर्ने परम्परा रहेको र यो परम्परा लोप हुँदै गएर श्राद्धमण्डपमा कुशको ब्राम्हण राखिएको हो । दुबै पट्टी दुई÷दुई ब्राम्हणलाई क्रमशः विश्श्रदेव र पितृब्राम्हण भनिन्छ ।पार्वण श्राद्ध अन्य श्राद्धको विधि जस्तै देव मनुष्य दिव्यपितृ र स्वपितृलाई सम्झेर पार्वण श्राद्ध सुरु हुन्छ ।यसपछि प्रत्येक ब्राम्हणलाई निमन्त्रण गरिन्छ ।यसपछि विकटदान गरी पिण्ड दानका लागि वेदी बनाएर पूजा गरिन्छ ।प्रत्येक पितृलाई पिण्ड दिनुअधि पिण्डासन दिई पितृको नाम लिएर विधिपूर्वक पिण्डदान गरिन्छ ।श्राद्धको लागि स्थान हेर्ने हो भने पार्वण श्राद्ध आफ्नै घरमा बसेर वा आफ्नो नभए पवित्र तीर्थस्थल, गंगाको तिरमा गएर पनि गर्ने चलन छ तर घरमै भए पनि श्राद्ध गर्दा भूमि मै गर्नुपर्ने नियम छ ।श्राद्धको समयको कुरा गर्ने हो भने पार्वण श्राद्ध खासगरीकन अपराह्रनमा गर्नुभर्ने शास्त्रमा उल्लेख भएको भनाई पाइन्छ ।

अव पिण्ड भनेको के हो भन्दा ब्रह्माण्डको उत्तम वस्तुद्वारा निर्मित पितृहरुलाई नामगोत्रोच्चारणपूर्वक समर्पण गरिने पितृको भोज्य {खाने }पदार्थ हो।श्राद्धको दिन छोरीको छोरो ,कुश ,तुलसी ,कालोतिल ,मासको बारा ,अदुवाको भुजुङ्गो {छोप }चाहिन्छ।
हामीले दिएको पिण्डको अन्न पितृहरुलाई अमृत अवश्थामा प्राप्त हुन्छ ,दैत्ययोनीमा गएको भए भोगरुपमा प्राप्त हुन्छ,पशुयोनिमा तृण {घाँस }रुपमा प्राप्त हुन्छ ,सर्प योनिमा वायुरुपमा प्राप्त हुन्छ ,यक्षयोनिमा गएको भए पानरुपले प्राप्त हुन्छ,मनुष्ययोनीमा गएको भए अन्न अनेकरुपमा प्राप्त हुन्छ,प्रेतयोनिमा गएको भए रगतको रुपमा प्राप्त हुन्छ आदि।
पं-बालमकुन्द देबकोटा

You May Also Like

More From Author

+ There are no comments

Add yours