३० भदाै, काठमाडाैँ । कोभिडको महामारीपछि नेपाली फिल्म क्षेत्रमा आएको परिवर्तनले धेरै राम्रा कामहरु भएका छन् भने केहि नराम्रा कुराहरु पनि बढ्दै गएका छन् । कोभिड–१९ को महामारी आउनसअघि नेपालमा वार्षिक एक सयको हाराहारीमा नेपाली फिल्महरु प्रदर्शन हुन्थे । यद्यपि, कोभिडलगत्तै भने फिल्म निर्माणको गतिमा केहि सूस्तता छायो ।
समयसंगै बिस्तारै फिल्म निर्माणले गति लियो, यद्यपि यसपटक फिल्मको संख्यामा भन्दा गुणस्तरमा ध्यान दिन थालियो । कोभिडपछि अहिले वार्षिक ५०–५५ वटा फिल्महरु बन्न थालेका छन् । फिल्म निर्माणको संख्यामा झण्डै आधाले कमि आए पनि यी फिल्महरुको गुणस्तरमा भने सकारात्मक परिवर्तन आएको दर्शकले पनि अनुभव गरे ।
त्यसैले त कोभिडपछि प्रदर्शन भएका फिल्महरुले करोडौं रुपैयाँको व्यवसाय गर्न सफल भए । नेपाली फिल्मको इतिहासमा सबैभन्दा बढी व्यवसाय गर्न सफल भएको फिल्म ‘कबड्डी ४ः द फाइनल म्याच’ कोभिडपछि नै अर्थात सन् २०२२ मा प्रदर्शन भएको हो । यो फिल्मले झण्डै साढे २१ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको छ । दोस्रो स्थानमा सन् २०२३ मा प्रदर्शन भएको ‘छक्का पञ्जा ४’ छ, यसले साढे १७ करोड रुपैयाँ भन्दा बढी ग्रस कलेक्सन गरेको छ भने तेस्रो स्थानमा रहेको सन् २०२३ मै प्रदर्शन भएको ‘जारी’ ले सवा १७ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको छ । चौथौ स्थानमा रहेको ‘महाजात्रा’ पनि भरखरै प्रदर्शनमा आएको फिल्म हो, जसले १६ करोड बढीको व्यवसाय गरेको छ । उत्कृष्ट पाँचको पाँचौं स्थानमा रहेको ‘छक्का पञ्जा ३’ ९१६ करोड रुपैयाँ ग्रस० मात्र कोभिडअघि अर्थात सन् २०१८ मा प्रदर्शन भएको फिल्म हो ।
यसबाट के स्पष्ट हुन्छ भने कोभिडपछि जति पनि फिल्महरु बनेका छन्, ती सबैमा मेकरले निकै मेहनतमात्र गरेका छैनन्, पटकथादेखि कलाकारको छनोटमा समेत प्रसस्त ध्यान दिएका छन् । फिल्म निर्माणको संख्यामा कमि आएता पनि राम्रा फिल्म बनेकाले दर्शकले राम्रो माया गरे । यसले संख्यात्मक रुपमा धेरै फिल्म बनाएर मात्र धेरै व्यापार हुने होइन रहेछ भन्ने कुरा प्रमाणित भएको छ ।
यद्यपि, कोभिडभन्दा यता पनि केही त्यस्ता फिल्महरु पनि बने, जसको निमार्णमा खासै होमवर्क नै गरिएको थिएन । चले चल्छ, नचले पनि निर्माताको परिचय बन्छ भन्ने सोचाइ लिएर पनि धेरै नयाँ निर्माताहरु फिल्म क्षेत्रमा भित्रिए । त्यस्ता नाम कमाउन आएका निर्माताका कारण यो क्षेत्रमा कार्यरत कलाकार र प्राविधिकहरु छोटो समयका लागि लाभान्वित त भए, तर त्यसले फिल्म क्षेत्रलाई दीर्घकालिन फाइदा भने प्रदान नगरेको अनुभव गरियो ।
वास्तवमा, त्यस्तै फिल्मको प्रभाव राम्रा फिल्महरुमा पनि परिरहेको छ, र दर्शकले चाहेर पनि राम्रा भनिएका फिल्ममा समेत रुचि नदेखाउने हुन् कि भन्ने आशंका पैदा हुन थालेको छ ।
फिल्म क्षेत्रमा देखिएका केहि त्यस्ता नकारात्मक कुराहरुकै कारण अहिले कुनै–कुनै फिल्मले आफ्नो पोस्टरको खर्चसमेत उठाउन नसकिरहेको समेत उदाहरणहरु छन् । एक–दुई दिनमात्र पनि सिनेमा हलमा नटिक्ने फिल्महरु पनि नबनेका होइनन्, यद्यपि समयसंगै त्यस्तो मेहनत नै नगरि फिल्म निर्माणमा होमिएकाहरु आफैं यो क्षेत्रबाट टाढिने कुरामा दुईमत छैन ।
नेपालमा अहिले औषत डेढ देखि दुई करोड रुपैयाँको हाराहारीमा फिल्म निर्माण भइरहेका छन् । तर त्यस्ता धेरै कम फिल्म छन्, जसले फिल्मबाट फाइदा उठाएका छन् । तर त्यस्ता लगानीकर्ता पनि धेरै छन्, जसले फिल्ममा लगानी गरेको पैसा कहिले फिर्ता नहुने गरि डुबाएकासमेत छन् ।
अझ अहिले त आफूले बनाएको फिल्म हेर्न दर्शक सिनेमा हलसम्म नआएपछि निमार्ताहरु आफैँले टिकट काट्नु पर्ने पीडादायी वाध्यतासमेत निम्तिएको छ । बाहिर यति–उति टिकट विक्रि भयो भन्ने चर्चा चलाइन्छ, हल भित्र भने दर्शक नहुने ट्रेण्डले सिनेमा हलका मालिकलाई त घाटा नहोला, तर यसले फिल्म क्षेत्रलाई नै घाटा पुर्याइरहेको कुरालाई भने नजरअन्दाज गर्न मिल्दैन ।
यसैबीच, पछिल्लो समय अर्को एउटा नकारात्मक ट्रेण्ड फिल्म क्षेत्रमा भित्रिएको छ । सामान्यतया शुक्रवार नयाँ फिल्म प्रदर्शन भएपछि दर्शकहरु ती राम्रा फिल्महरु हेर्न शुक्रवार तथा शनिवार नै सिनेमा हल पुग्थे । विकेण्डमा दर्शकको उल्लेख भिडभाड भएका फूटेजसहितका समाचारहरु सार्वजनिक हुन्थे ।
अहिले ठ्याक्कै उल्टो भएको छ, विकेण्डमा सिनेमा हेर्ने दर्शकको संख्या पातलिएको छ । विकेण्डमा मल्टिप्लेक्सको महंगो टिकट काटेर फिल्म हेर्न दर्शकको संख्या घटेसंगै विकडेज ९बुधवार–बिहीवार० भने सिनेमा हलमा दर्शकको घुईँचो बढ्न थालेको छ । यसको एउटै कारण हो, मल्टिप्लेक्सहरुले विक डेजमा टिकट शूल्कमा दिएको प्रचास प्रतिशतको छूट ।
हजुर, अहिले सामान्यतया विकेण्डमा चार–पाँच सय पर्ने फिल्मको टिकट बुधवार–बिहीवार दुई सयदेखि दुई सय पचास रुपैयाँमा उपलब्ध हुन्छ । टिकटको आधा पैसा जोगिने भएपछि काठमाडौं उपत्यका भित्रमात्र होइन, काठमाडौं बाहिरका मल्टिप्लेक्सहरुमा समेत विक डेजमा दर्शकको भिडभाड देखिन थालेको छ ।
वास्तवमा, यसको नकारात्मक प्रभाव पनि निर्माताले नै व्यहोर्नु पर्ने देखिएको छ । हुन त यसले सिनेमा हललाई पनि नाफा त हुँदैन, तर निर्मातालाई भने प्रत्यक्ष प्रभाव पर्ने देखिन्छ । किनभने निर्माताले सिनमा हलमा बिक्रि भएको टिकट र त्यसको मूल्यको आधारमा पैसा पाउने हो । यसले फिल्ममा अभिनय गर्ने कलाकारहरुलाई पक्कै खुशी दिन्छ, किनभने विक डेजमै भए पनि दर्शकले उनीहरुका फिल्म हेरिदिए । सिनेमा हलमा पपकर्न र चिया, कफि पनि बिक्री हुन्छ । अझ दर्शकले त टिकटै पैसाले यी खानेकुरा किन्न सक्छन् । तर, निर्माता÷वितरकलाई भने यसबाट घट्ने ग्रस कलेक्सनले पक्कै पनि खुशी दिँदैन ।
त्यसैले, आफ्ना फिल्महरु प्रदर्शन गर्न सार्वजनिक विदा, चाडपर्वहरुको प्रतिक्षा गर्ने निर्माताहरुले अब बुझ्नु पर्ने भएको छ । किनभने सिनेमा हलले दिने टिकटको छूटले विदाको दिनको महत्व नै घटाएको छ । अबका दर्शकलाई विदाको समयमा फुर्सद मिलाएर फिल्म हेर्न जाने भन्दा पनि ५० प्रतिशत छूटको दिनहरुलाई फिल्म हेर्ने मौकाको रुपमा लिन थालेका छन् । त्यसैले अब दर्शकले फिल्म हेर्न होलि डे होइन, डिस्काउन्ट डे कुर्न थालेका छन् । त्यसैले त सिनेमा हलमा बुधवार–विहिवार दर्शकको भिड बढ्न थालेको देखिन्छ ।
यदि यहि क्रमले निरन्तरता पाउने हो भने फिल्मको ग्रस कलेक्सनमा कमि आउने र निर्मातालाई घाटा हुने ठूलो कारणमध्ये यो छूटको सुविधा पनि एक हुन सक्छ । यस बारेमा कलाकार, सिनेमा हलका सञ्चालक, वितरकदेखि निर्माताहरुले समेत गम्भिर भएर सोच्ने कि ?
+ There are no comments
Add yours