धावनमार्ग विस्तारको माग राखी ज्ञापनपत्र

३० भदौ, सुर्खेत । सुर्खेत उद्योग वाणिज्य सङ्घले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुर्खेत विमानस्थल धावनमार्ग विस्तारको काम छिटो बढाइदिनुहुन ज्ञापनपत्र बुझाएको छ । सङ्घले धावनमार्गसहित १३२ केभिए विद्युत् प्रसारण लाइनमा परेका रुखहरू कटानको निर्देशनको माग राख्दै ज्ञापनपत्र बुझाएको छ । सङ्घका अध्यक्ष लक्ष्मण कँडेलले काठमाडौँमा पुगी प्रधानमन्त्री ओलीसमक्ष ज्ञापनपत्र बुझाउनुभएको जानकारी दिइएको छ ।

हाल एक हजार २५५ मिटर लम्बाइ रहेको सुर्खेत विमानस्थलको धावनमार्ग छोटो हुँदा ठुला जहाज अवतरणमा कठिनाइ भएको, जहाजले क्षमता अनुसारको भार वहन गर्न नसक्दा यात्रा महँगो हुने गरेको तथा आगामी दिनमा रात्रिकालीन उडानको पनि सम्भावना भएकाले विस्तार कार्यलाई प्राथमिकतामा राखिदिन प्रधानमन्त्रीसँग माग गरिएको छ । हालको धावनमार्गलाई एक हजार छ सय मिटर बनाउनुपर्ने र सुर्खेत विमानस्थललाई बेस बनाई कर्णालीका पहाडी तथा हिमाली जिल्ला जुम्ला, डोल्पा, मुगु, हुम्ला र सुदूरपश्चिमका डोटी, बाजुरामा नियमित हवाई सेवाको व्यवस्था मिलाइदिन आग्रह गरिएको छ ।

भौगोलिक रूपमा सर्वाधिक कठिन प्रदेश मानिएपछि हवाई यातायात नियमित र सहज हुन सक्ने देशको आर्थिक विकासमा कर्णालीले ठुलो योगदान गर्न सक्ने स्मरण पनि प्रधानमन्त्रीलाई गराइएको छ ।

यसै गरी कोहलपुर–सुर्खेतको १३२ केभिए विद्युत् प्रसारण लाइनको काम जारी रहेकोमा यसभित्र पर्ने रुखहरू केही कटान भए पनि केही बाँकी नै रहेकाले कटान अनुमति भए पनि काम नहुँदा विद्युत्को समस्या भएकाले सो काममा सहजीकरण गरिदिन प्रधानमन्त्री ओलीलाई आग्रह गरिएको छ ।

विद्युत् प्रसारण लाइनभित्र बाँके र बर्दिया निकुञ्जभित्रका छ हजार ८५० वटा रुख कटान गर्न यकिन भएर छपान भए पनि कटान गर्न अनुमति नपाउँदा विद्युत् प्रसारण लाइन विस्तारमा अवरोध आएको जनाइएको छ । छपान भइसकेका रुख कटान गर्न विशेष निर्देशन दिन माग गर्दै ज्ञापनपत्रमा विद्युत् प्रसारण लाइनमा आएको अवरोधले यहाँको औद्योगिक तथा व्यावसायिक क्षेत्रमा असर परेको जनाइएको छ ।

सङ्घका अध्यक्ष कँडेलले कर्णाली प्रदेशको विकासको ठुलो योजना मानिएका सुर्खेत विमानस्थल धावनमार्ग विस्तार र १३२ केभिए विद्युत् लाइन विस्तारको कामलाई गति दिनका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको बताउनुभयो । यी दुई आयोजना सम्पन्न भए सुर्खेतलगायत प्रदेशको आर्थिक विकासमा महìवपूर्ण टेवा पुग्ने दाबी गर्दै उहाँले प्रधानमन्त्रीबाट विशेष निर्देशन माग गरिएको बताउनुभयो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours