म्यानमारमा आँधीले ३३ को मृत्यु, २ लाखभन्दा बढी विस्थापित

२९ भदाै, काठमाडौं । म्यानमारमा यागी आँधीका कारण आएको भीषण बाढीका कारण कम्तीमा ३३ जनाको ज्यान गएको छ भने २ लाख ३० हजार मानिस विस्थापित भएको अधिकारीहरूले जनाएका छन्।

बीबीसीका अनुसार देशको सत्तारुढ सैनिक सरकार (जुन्टा)ले प्रभाव कम गर्न विदेशी सहायताका लागि अनुरोध गरेको छ। राजधानी नेइपिड सबैभन्दा बढी प्रभावित भएको जनाइएको छ। राज्यद्वारा सञ्चालित दैनिक न्यू लाइट अफ म्यान्मारले घरबारविहीन पीडितहरूका लागि केही अस्थायी राहत शिविरहरू स्थापना गरिएको जनाएको छ।

यस वर्षको एसियाकै सबैभन्दा शक्तिशाली आँधी यागीले भियतनाम, चीनको हाइनान टापु र फिलिपिन्समा पनि निकै ठूलो प्रभाव पारेको छ। जुन्टा सरकार प्रमुख मिन आङ हालिङ र अन्य अधिकारीहरूले बाढी प्रभावित क्षेत्रहरूको भ्रमण गरेका छन्। उनले विनासकारी बाढीको सामना गर्न विदेशी सहायताका लागि अनुरोध गरेका छन्।

रेडियो फ्री एसियाका रिपोर्टहरूमा भने बाढीका कारण ज्यान गुमाउनेको संख्या कम्तीमा १ सय ६० भएको उल्लेख गरिएको छ। टाउन्गुका एक उद्धारकर्मीले बीबीसीसँग सिताउङ नदीको पूर्वी किनारमा बाढीका कारण ३ सयभन्दा बढी मानिस फसेको बताएका छन्।

‘हामीसँग उद्धार गर्न पर्याप्त डुंगा नै छैनन्,’ ती उद्धारकर्मीले भनेका छन्। वैज्ञानिकहरूले जलवायु परिवर्तनसँगै चक्रवात र आँधीहरू बलियो हुँदै गएको बताएका छन्। महासागरको पानी न्यानो भएपछि आँधीबेहरीले ऊर्जा बढी लिने र हावाको गति पनि उच्च हुने उनीहरूको भनाइ छ। त्यस्तै, न्यानो वायुमण्डलले पनि अधिक आर्द्रता राख्ने भएकाले पनि तीव्र वर्षा हुने गर्छ।

संयुक्त राष्ट्रसंघका अनुसार म्यानमारको अधिकांश जनसंख्या तीनवर्षे गृहयुद्धका कारण विस्थापित भएको छ। हिंसाका कारण हजारौंको ज्यान जानुका साथै २६ लाख मानिस विस्थापित भएको राष्ट्रसंघको तथ्यांक छ। मानवीय मामिला समन्वयका लागि राष्ट्रसंघीय कार्यालय (ओसीएचए) का अनुसार करिब १ करोड ८६ लाख मानिस मानवीय आवश्यकताको पर्खाइमा छन्।

अन्तर्राष्ट्रिय रेडक्रस (आईसीआरसी) ले म्यानमारका धेरै परिवारको सफा पानी र सरसफाइमा सीमित पहुँच रहेको र आधारभूत औषधि र स्वास्थ्य सेवाबिना नै बाँच्न बाध्य भइरहेको जनाएको छ। ‘उनीहरू सशस्त्र द्वन्द्व र हिंसाको डरमा बाँचिरहेका छन्। जीविकोपार्जनका अवरोधले अनगिन्ती मानिसलाई आफूलाई निर्वाह हुने माध्यमविहीन बनाइदिएको छ,’ आईसीआरसीका अध्यक्ष मिर्जाना स्पोलजारिकले बुधबार भनेका थिए।

You May Also Like

More From Author

+ There are no comments

Add yours