धरहरा सञ्चालन गरिने

२९ भदाै, काठमाडौँ । सरकारले धरहरा सञ्चालन गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भदौ २७ गतेको मन्त्रीपरिषद् बैठकका निर्णय शुक्रबार सार्वजनिक गर्नुहुँदै अन्तरिम कालका लागि धरहरा सञ्चालन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।

त्यसै गरी बैठकले हुलाकी राजमार्ग चितवन खण्ड अन्तर्गत चितवन राष्ट्रिय निकुञ्जभित्रको राजमार्गको अहिलेको रेखाङ्कन (एलाइनमेन्ट) संशोधन गर्न र गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकको स्याफ्रुबेँसी बजार खण्डमा ११ मिटर चौडाइमा सडक निर्माण गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ ।

दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहयोग विद्युत् ट्रान्समिसन तथा वितरण आयोजनाको कार्यान्वयनका लागि एसियाली विकास बैङ्कबाट प्राप्त हुने अनुदान तथा सहुलियतपूर्ण ऋण सहायता प्राप्तिका लागि नेपाल सरकारका तर्फबाट एसियाली विकास बैङ्कसँग वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ताटोली गठन गर्ने निर्णय गरिएको छ ।

कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषबाट ‘रिसाइलेन्ट हाई भ्यालु एग्रिकल्चर प्रोग्राम’ मा प्राप्त हुने करिब नौ अर्ब ४५ करोड रुपियाँ बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने र वित्तीय सम्झौतामा हस्ताक्षर गर्न अर्थ मन्त्रालयलाई अख्तियारी दिने निर्णय मन्त्रीपरिषद्ले गरेको छ ।

नेपाल सरकारको नाममा दर्ता रहेको काठमाडौँ जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ स्थित ५–१४–०–० रोपनी क्षेत्रफल रहेको सरकारी जग्गा बालुवा स्वास्थ्य चौकीको भवन निर्माणका लागि गोकर्णेश्वर नगरपालिकालाई उपयोग गर्न स्वीकृति दिने निर्णय मन्त्रीपरिषद्ले गरेको मन्त्री गुरुङले जानकारी दिनुभयो । बैठकले नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणी रिक्त पदमा सहसचिव माहादेव पन्थलाई बढुवा गरी मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, लुम्बिनी प्रदेशको प्रमुख सचिव पदमा पदस्थापन गर्ने निर्णय गरेको छ ।

त्यसै गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय (वाणिज्य तथा आपूर्ति) सचिव मधुसूदन बुर्लाकोटीलाई राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रमुख तथ्याङ्क अधिकारीमा, सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका प्रमुख सचिव डा. हरिप्रसाद लम्साललाई बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका प्रमुख सचिवमा र बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका प्रमुख सचिव गोविन्दबहादुर कार्कीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय (वाणिज्य तथा आपूर्ति) सचिवमा सरुवा गर्ने निर्णय गरिएको मन्त्री गुरुङले जानकारी दिनुभयो ।

त्यसै गरी बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव कमलप्रसाद पोखरेल (शर्मा) लाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको प्रमुख सचिव पदमा कायममुकायम मुकरर गर्ने र निर्वाचन आयोगका सहसचिव रघुराम विष्टलाई गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको प्रमुख सचिव पदमा कायममुकायम मुकरर गर्ने निर्णय गरेको छ ।

असोज २७ देखि २९ गतेसम्म जर्मनीको बर्लिनमा आयोजना हुने ‘वर्ड हेल्थ समिट र असोज २९ देखि कातिक १ गतेसम्म इटालीको रोममा आयोजना हुने ‘ह्यान्ड इन ह्यान्ड इनाइटिएटिभ इन्भेस्टमेन्ट फोरम’ मा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीलाई स्वीकृति प्रदान गर्ने बैठकले निर्णय गरेको छ । त्यसै गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोरकुमार सिलवाललाई असोज ८ देखि ११ गतेसम्म चीनको बेइजिङमा आयोजना हुने ‘फिफ्थ प्लेनरी मिटिङ अफ द ग्लोबल अपरेसनल नेटवर्क अफ एन्टी क्रप्सन ल इनफेर्समेन्ट अथोरिटिज (ग्लोबल नेटवर्क) मा सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय गरिएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours