राष्ट्र संघको महासभामा भाग लिन जानुअघि प्रधानमन्त्रीले ३१ गते संसदमा सम्बोधन गर्ने

२७ भदाै, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ ३१ गते संसद बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

राष्ट्रसंघीय महासभामा भाग लिन अमेरिका जानुअघि प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्न लागेको एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् ।

महासभामा गर्ने सम्बोधनमा आफूले उठाउने विषयबारे उनले अग्रीम रुपमा संसदलाई जानकारी गराउन लागेका हुन् ।
प्रधानमन्त्री ओलीको असोज ४ गते अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीको भ्रमण कार्यक्रम मन्त्रिपरिषदबाट स्वीकृत भइसकेको पनि बर्तौलाले जानकारी दिएका छन् ।

‘कसैलाई पनि पछाडि नछाडौँः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दीगो विकास र मानव निष्ठा सुनिश्चित गर्न सहकार्य ’भन्ने नाराका साथ संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभा अमेरिकाको न्युयोर्कमा भइरहेको छ। सभा शुरू भएपनि उच्चस्तरीय साधारण छलफल भने आगामी असोज ८ गतेदेखि हुनेछ ।

महासभामा नेपालले दिगो विकासको लक्ष्य हासिलमा आफ्नो प्रतिबद्धताअनुसार काम गर्दै आएको विषयलाई समेत उच्च प्राथमिकतामा राखेको छ । त्यसैले ‘समिट अफ द फ्युचर २०२४’ मा नेपालले उच्चस्तरीय सहभागिता जनाएर भए-गरेका कामका बारेमा विश्व समुदायलाई जानकारी गराउनेछ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours