२६ भदाै, एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफूले दिएको लामो दूरीको मिसाइल प्रयोगमा युक्रेनमाथि लगाएको प्रतिबन्ध फुकाउने सङ्केत गरेका छन् । यस्तो प्रतिबन्धले आफ्नो हात बाँधिएको भन्दै युक्रेनले बारम्बार ती हतियारको प्रयोगमा लगाएको बन्देज खुकुलो पार्न अनुरोध गर्दै आएको थियो । बाइडेनले भने जस्तै गरी अमेरिकाले यस्तो अनुमति दियो भने युक्रेनको अनुरोध पूरा हुनेछ ।
यस विषयमा रुसले अहिलेसम्म कुनै पनि टिप्पणी दिएको छैन । तर यस अघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यस्तो खालको कदमले गम्भीर समस्या निम्त्याउने भनेर चेतावनी दिएका थिए । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्केन र उनका बेलायती समकक्षी डेभिड ल्यामीले किभमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई भेट्ने तयारी गरिरहँदा बाइडेनको यो अभिव्यक्ति आएको हो ।
यो भ्रमण अघि आफूहरूको ध्येय युक्रेनी नेतृत्वबाट उनीहरूको लक्ष्य र सोको पूर्तिका लागि आफूहरूले के सहयोग गर्न सक्छौँ भनेर प्रत्यक्ष सुन्नु भएको बताएका छन् । लन्डनमा छलफलपछि ब्लिङकेन र ल्यामी साथसाथै किभ जाँदैछन् । आफ्नो बेलायत भ्रमणका क्रममा ब्लिङ्केनले इरानमाथि रुसलाई छोटो दूरीको ब्यालिष्टिक मिसाइल दिएको आरोप लगाउँदै यी अस्त्र केही हप्ताभित्रै युक्रेनीमाथि प्रहार हुन सक्ने बताएका थिए । तर इरानले बारम्बार यी आरोपको खण्डन गर्दै आएको छ ।
+ There are no comments
Add yours