स्याङ्जा हीरापाटाका १५० घरमा धारा जोडियो

२६ भदौ, स्याङ्जा । स्याङ्जा पुतलीबजार नगरपालिका–१३ हीरापाटाका एक सय ५० घरमा ‘एक घर–एक धारा’ योजनाअन्तर्गत धारा जडान गरिएका छन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख हरिप्रसाद तिमिल्सिनाका अनुसार लामो समयदेखि खोल्सा तथा कुवाको पानी प्रयोग गर्दै आएका स्थानीयका घरमा गरिएको हो ।

दरौँखोला किनारको मूलबाट पानी तानेर वितरण गरिएको हो । ‘सङ्घीय सरकारअन्तर्गत आव २०७४/७५ मा निर्माण सुरु भएको उक्त आयोजना कार्यान्वयनका लागि गण्डकी प्रदेशमा हस्तान्तरण भई आएको थियो’, उनले भने, ‘निर्माण सुरु भएदेखि क्रमिक रूपमा निर्माण सम्पन्न हुँदाको समयसम्म झण्डै रु चार करोड खर्च भएको छ ।’

सङ्घीय सरकारबाट विनियोजन भएको ३ करोड ५४ लाख र स्थानीयको जनश्रमदान ४१ लाख गरी ३ करोड ९५ लाख रुपैयाँमा धारा जोडिएको हो । ‘सञ्चालनमा आएको खानेपानी आयोजना गुणस्तर तथा शुद्धीकरणको नमूनाका रूपमा रहेको छ’, तिमिल्सिनाले भने, ‘पानी शुद्धीकरणका लागि फिल्टरलगायत उपकरण जडान गरिएको छ ।’

निर्माण सुरु भएको ७ वर्षपछि धारामा पानी आउँदा स्थानीयमा खुसी छाएको छ । योजना सम्पन्न भई सञ्चालनमा आएसँगै हीरापाटा, न्यौपाने थर, जामुने, देउराली, लौके, बगैँचा, मान्केस्वाँरा, भैरवथानका एक सय ५० घरका सात सय ९५ जना प्रत्यक्ष लाभान्वित भएका छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours