भाद्रशुक्ल अष्टमीको दिन कागेश्वर महादेवको धार्मिक महत्व!

२६ भदाै, काठमाडौं । मिती २०८१ साल भाद्र २६ गते बुधबार भाद्र शुक्ल अष्टमी तिथी वेलुका ६ / १९ बजेसम्म त्यस उप्रान्त नवमी तिथी भएको हुनाले यो दिन राधाष्टमी, राधा महारानीको जन्मदिन भएकोले राधा भगवान कृष्णको विख्यात प्राणसखी, ब्रज धामको रानी र वृषभानुको पुत्री हुन ।उहाँको प्राकाट्य दिवस ,गौरा पर्व र कागेश्वरी मेलाको शुभकामना व्यक्त गर्दछु। हरेक भाद्र शुक्ल अष्टमीका दिन (महा अष्टमी भन्दा तिथि अनुसार ठिक एक महिना अगाडी) कागे अष्टमी मेला लाग्ने गर्दछ ।

कागे अष्टमीका दिन देशका बिभिन्न ठाउंबाट हजारौं तिर्थालुहरु राजधानी काठमाडौंको उत्तर पूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिका–१ मा पर्ने कागेश्वर महादेव मन्दिरमा दर्शनका लागि पुग्ने गर्दछन् ।कागेश्वर मेलामा हिन्दु तथा बौद्ध धर्माबलम्बीहरु त्यत्तिकै ठुलो संख्यामा जाने गर्दछन् ।कागेश्वरमेलामा ढ्याङ्गग्रे र विविध भेषभुषामा प्रस्तुत हुने झाँकी थप आकर्षणका रुपमा रहन्छन् ।यसै दिन नेवार समुदायले लाखे नाच निकालिन्छ ।जनै पुर्णिमामा रसुवाको गोसाईकुण्ड जाने भक्तजनहरुले त्यहांबाट जल ल्याउने र कागे अष्टमीका दिन कागश्वर महादेवलाई सो जल चढाएर ब्रत बिर्सजन गर्ने प्रचलन रहि आएको छ ।

कागको रूपमा रहेका कागेश्वर महादेवको स्नान गरेर जल चढाई पूजाआजा गर्दा सम्पूर्ण पाप नाश हुने र सुख, शान्ति प्राप्त गरी मरणोपरान्त सुखभोगको फल मिल्ने मान्यता छ।धार्मिक मान्यताअनुसार कागले मानिसलाई छुँदा अशुभ मानिन्छ, कागको बिष्टा शरीरमा परेमा अनिष्ट हुनसक्छ र कागको मैथुन देखेमा अपशकुन लाग्छ भन्ने उक्ति विद्यमान रहेकाले सो प्रकारका दोषलाई कागदोष मानिन्छ र यस्तो कागदोषबाट मुक्ति पाउन वर्ष दिनभर कागदोष लागेका मानिस यहाँ आई स्नान गरेर कागेश्वर महादेवलाई जल चढाई पूजाआजा गरी अनिष्टता निवारण गराउँछन् ।यस महादेवस्थानमा रहेको सेन पर्वत अर्थात् कागेश्वर पहाड चढ्नाले मात्रै १० गाई दान गरे बापतको फल मिल्ने पुराणमा उल्लेख भएकाले यहाँको धार्मिक आस्थाको गरिमा अझ अटल रहन्छ ।किंवदन्तीअनुसार परापूर्वकालमा कागले गाईको दूध पहरामा रहेको शिवलिङ्गमा चढाउँदै गरेको गोठालाले देखेपछि त्यहाँ खोस्रेर हेर्दा महादेवको मूर्ति फेला परेकाले त्यसैबेलादेखि वर्षेनी यहाँ मेला लाग्दै आएको बताइन्छ ।श्रीस्वस्थानी व्रतकथामा कागेश्वर महादेवको आराधनाको महत्वको व्याख्या गरिएको छ ।सत्ययुगमा सतीदेवीको अङ्ग मुटु पतन भएर सेनपिठ उमादेवी अष्टबक्रायोगिनी कागेश्वर महादेव उत्पत्ति भएको भनाइ स्वस्थानी व्रत कथामा उल्लेख छ ।

उक्त स्थानमा नवग्रह आएर अनेक तरहले पूजाआजा गर्दा महादेव प्रसन्न रही वरदान माग भन्नुभयो ।तब नवग्रहले हामी मानवका जीवनमा आउने हरप्रकारका घटनाका उत्तरदायी बन्न सकौं र तिनका जीवनमा लाभ तथा हानि हाम्रो कारणले नै होस् भनी मागे र सो वरदान प्राप्त गरेकाले यहाँको महादेवको दर्शनले नवग्रह दशा शान्ति रही शुभफल मिल्ने मान्यता छ ।
यसैगरि अको कथनअनुसार सत्ययुगमा महादेब र पार्वती वनबिहार गर्न निक्लनुभयो ।वनबिहार गर्दागर्दै महादेवले पार्वतीलाई छल गरि सेन पर्बत अर्थात यहि कागेश्वर पहाडको गुफामा आई तपस्या गर्न थाल्नुभयो ।एकाएक शिवजी अन्तरध्यान भएपछि चिन्तित पार्वतीले ध्यानदृष्ट्रिले पत्ता लगाए ।पार्वतीले सेतो कागको रुप धारण गरि जल चुच्चाले च्यापि महादेवलाई चढाएपछि शिव भगवान खुशि भएर कागेश्वर भगवानको नाममा त्यस क्षेत्रमा विराजमान भएको हो ।
मन्दिर परिसरमा हाल २२७ किलोको अष्टधातुबाट बनेको कागको मूर्ति विशेष आकर्षणका रुपमा रहेको छ । यो नेपालकै ठूलो कागको मूर्ति हो ।

यस पर्वका अवसरमा कागेश्वरी-मनाेहरा नगरपालिकाले प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन नगरपालिकाभर सार्वजनिक बिदा दिँदै आएको छ।

कागे अष्टमीका अवसरमा कागेश्वर महादेव मन्दिर जान नसक्ने भक्तजनले हनुमानढोकामा रहेको कागेश्वर मन्दिरमा पूजा, आराधना एवं दर्शन गर्ने गरेको पाईन्छ।

कागेश्वर मेलासम्बन्धी विभिन्न धार्मिक मान्यता रहिआएका छन्।यमराजको दूत कागले मान्छेलाई छुँदा अशुभ हुने र त्यसबाट मुक्त हुन कागेश्वर मन्दिरको पोखरीमा नुहाउनु पर्ने धार्मिक मान्यता रहेको छ।महादेवका ६४ लिंगमध्ये कागेश्वरी महादेव पनि एक भएकाले यसको दर्शन गर्दा मनोकामना पूर्ण हुने आस्थाका साथ यहाँ भक्तजनको भीड लाग्ने गर्दछ।कागको रूपमा रहेका कागेश्वर महादेवको स्नान गरी जल चढाई पूजाआजा गरेमा मनोकांक्षा पूरा हुने विश्वास छ।त्यस्तै गोसाइँकुण्डमा मेला भर्ने दर्शनार्थीले त्यहाँको पवित्र जल लिएर राजधानीको उत्तरपूर्वी कागेश्वरीमा अवस्थित कागेश्वर महादेवलाई स्नान गराएपछि आफ्नो धार्मिक यात्रा तथामनोकामना पूर्ण हुने विश्वास रहिआएको छ।

कागेश्वर महादेव उत्पत्तिका सम्बन्धमा पनि विभिन्न किम्बदन्ती छन्। प्राचीनकालको एक किम्बदन्तीअनुसार महादेव कैलाशबाट हराएपछि ब्रह्मा, विष्णु, इन्द्र र पार्वती महादेवलाई खोज्न विभिन्न स्थानमा गएका थिए।तर, कहि भेटाउन सकेनन्।पछि कागले सूचना दिएपछि महादेव यही स्थानमा भेटिएका थिए।कागको सूचनाका आधारमा महादेव फेला परेपछि यो स्थानलाई कागेश्वर महादेवका रुपमा स्थापित गरिएको हो।त्यसैले भदौ शुक्ल अष्टमीका दिन मन्दिरपरिसरमा सुनको कागको प्रतिमूर्ति राखिने र त्यसको विधिवत तरिकाले पूजा गरिन्छ। धार्मिक मान्यता अनुसार कागलाई यमराजको दूत पनि मानिन्छ। त्यसैले तिहारमा कागको विशेष पूजा गरिँदै आएको छ।त्यस्तै काग संवाहकको सूचक पनि मानिन्छ।मुखमा खानेकुरा बोकेको काग देखिएमा शुभ मानिन्छ।बिहानपख घरको छतमा आएर काग कराएमा पाहुना आउने संकेत मानिन्छ।यो दिन मन्दिरमा पूजाआजा गर्दा सम्पूर्ण पाप नास हुने र सुख, शान्ति प्राप्त गरी मरणोपरान्त सुखभोगको फल मिल्ने मान्यता रहिआएको छ।
पं-बालमुकुन्द देबकोटा

You May Also Like

More From Author

+ There are no comments

Add yours