पूर्वमुख्यमन्त्री केदार कार्कीले गरे प्रदेश सचिवालयअघि आमरण अनसन घोषणा, प्रशासनले जारी गर्‍यो निषेधाज्ञा

२५ भदाै, विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले प्रदेश सभा सचिवालयअघि आमरण अनसन बस्ने घोषणा गरेका छन‍्। उनको अनसनको कार्यक्रम सार्वजनिक भएपछि मोरङ प्रशासनले निषेधाज्ञा जारी गरेको छ।

जिल्ला प्रशासन कार्यालयले शान्ति सुरक्षामा असर पर्न सक्ने भन्दै निषेधाज्ञा जारी गरेको हो। सुरक्षा जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासनले जनाएको छ। जिल्ला सुरक्षा समिति मोरङको निर्णयअनुसार आज अपराह्न ३ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो।

मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले सर्वसाधारण तथा सवारीसाधन आवतजावतबाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला, र्‍याली, धर्ना, प्रदर्शनीलगायत विरोधजन्य कार्यहरू गर्न रोक लगाउनेगरी निषेधाज्ञा जारी गरेको बताए। उनले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ क) बमोजिम निषेधाज्ञा जारी गरिएको जानकारी दिए।

जिल्ला प्रशासनले पूर्वमा देवकोटा चोकदेखि पश्चिममा कोशी अस्पतालको चोक क्षेत्र, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोडशेष चोकदेखि दक्षिण जतुवा चोक क्षेत्र, मुख्यमन्त्री निवास वरिपरि ३०० मिटर क्षेत्र, प्रदेश प्रमुखको कार्यालय तथा निवास वरिपरि ३०० मिटर क्षेत्र, र जिल्ला प्रशासन कार्यालय, मोरङ डाँफे चोकदेखि पूर्व निषेधाज्ञा जारी गरेको छ।

कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले आजबाट प्रदेश सभा सचिवालय अगाडि अनसन बस्ने बताएका छन्। कार्कीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष ९ वटा माग राख्दै ४८ घण्टाको अल्टिमेटम दिएका थिए। उनले आफ्ना माग पूरा नभए आमरण अनसन बस्ने चेतावनी दिएका थिए।

biratnagar-nisedhit-1725962480.jpg

You May Also Like

More From Author

+ There are no comments

Add yours