बाढीले क्षति पुर्‍याएका दुइटा झोलुंगे पुल पुनर्निर्माण

२५ भदाै, काठमाडाैं । सिन्धुपाल्चोककाे लार्के र इन्द्रावती नदीमा गत असार ३० मा आएको भीषण बाढीले पूर्णरुपमा क्षति पुर्‍याएको झोलुंगे पुल पुनःनिर्माण गरिएको छ ।

पाँचपोखरी थाङ्पाल गाउँपालिका-३ भोताङ र वडा नं २ याङ्ग्री जोड्ने झोलुंगे पुल गत असार ३० गते इन्द्रावती नदीमा आएको बाढीले क्षति पुर्‍याएको थियो । बाढीले गाउँपालिकाको तीन वटा झोलुंगे पुलमा क्षति पुगेको थियो ।

बाढीले क्षति पुर्‍याएको पुलमध्ये गाउँपालिकाकै स्रोतबाट चिण्डे र याङग्रीको पुल पुनःनिमार्ण भईसकेको गाउँपालिका अध्यक्ष टासी लामाले जानकारी दिए । बाढीले क्षति पुर्‍याएको माकालमा भने मोटरेबल पुल निमार्ण गर्न बोलपत्र आह्वान गर्ने तयारी गरिएको अध्यक्ष लामाले बताए ।

वडा नं २ को याङ्ग्री, सुनचौर, डाले, ब्राथोर, रिपार लगायतका स्थानीय हिँड्नका लागि प्रयोग हुने एकमात्र झोलुंगे पुलमा क्षति पुगेपछि समस्या भएको स्थानीय केशाङ तामाङले बताए । तामाङका अनुसार विद्यार्थी, स्थानीय र धार्मिकस्थल आमायाङ्ग्री जाने पर्यटकलाई समस्या भएको थियो ।

पुलमा क्षति पुगेपछि सङ्घ र प्रदेश सरकारलाई पटक–पटक आग्रह गरेपनि सुनुवाइ नभएको गाउँपालिका अध्यक्ष लामाले बताए । कतैबाट सुनुवाइ नभए पछि गाउँपालिकाकै स्रोत र साधनबाट पुल पुनः निमार्णको प्रक्रिया अगाडि बढाइएको उहाँको भनाइ छ ।

सो पुलमा विसं २०७८ असार १ गतेको बाढीलेसमेत क्षति पुर्‍याएको थियो । तात्कालीन अवस्थामा गाउँपालिकाले बजेट विनियोजन गरी पुल निमार्ण गरिएको थियो ।

त्यसको ३ वर्ष नबित्दै पुनः बाढीले क्षति पुर्‍याएको हो । १६२ मिटर लामो पुल ३४ लाख रुपैयाँ लागतमा पुनःनिर्माण गरिएको छ । त्यस्तै वडा नं १ र ६ जोड्ने चिण्डे ६५ मिटर लामो पुल १३ लाख रुपैयाँमा निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours