अमेरिकामा निर्यात बढाउन भन्सार रहित सुविधाको निरन्तरता : अध्यक्ष ढकाल

२५ भदाै, काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अमेरिकामा निर्यात कायम राखि आगामी दिनमा बढाउनका लागि भन्सार रहित सुविधाको निरन्तरता महत्वपूर्ण रहेको बताए ।

महासंघ, तयारी पोशाक संघ, नेपाल अमेरिका चेम्बर अफ कमर्श, युएसएड र निर्यात महासंघले संयुक्त रुपमा आयोजना गरेको नेपाल अमेरिका व्यापार र लगानी अवसर र चुनौति बिषयक कार्यक्रम उनले उक्त धारणा राखेका हुन् ।

अमेरिकाले सन २०१६ मा भुकम्पपछि ७७ वटा वस्तुमा दिएको भन्सार रहित सुविधा आगामी बर्ष सकिन लागेको र आगामी साता आयोजना हुने व्यापार एवं लगानी सम्बन्धि सम्झौता (टिफा)सुविधाको निरन्तरतालाई प्राथमिकता दिइनुपर्ने अध्यक्ष ढकालको भनाइ थियो ।

यसैगरि नेपाल अतिकम बिकसित मुलुकबाट स्तरोन्नति भैरहेको समयमा भन्सार रहित सुविधाको निरन्तरताका लागि सरकार र निजी क्षेत्रले संयुक्त रुपमा काम गर्नुपर्नेमा अध्यक्ष ढकालको जोड थियो । कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण रावतले निजी क्षेत्रको सुझाव अनुरुप अमेरिकासंग छलफल गरिने बताए ।

प्रतिनिधिसभा सदस्य गणेश पराजुलीले अमेरिकामा सुविधाको निरन्तरताका लागि सदन र अन्य सम्बन्धित ठाउँमा पहल गर्ने बताए । यस अवसरमा, महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले अमेरिकामा निर्यात वृद्धि गर्न थप प्रयास गर्न आवश्यक भएको बताए । नेपाल तयारी पोशाक संघका अध्यक्ष पशुपतिदेव पाण्डेले अहिले अमेरिकासंग पैरवी गर्ने उपयुक्त समय भएकाले सरकारले विशेष प्राथमिकता दिनुपर्ने जनाए ।

त्यस्तै, नेपाल–अमेरिका चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका अध्यक्ष किरण साखले निर्यात बढाउनुका साथ साथै व्यापारका लागि सहायता कार्यक्रममा पनि जोड दिनुपर्ने बताए । निर्यात व्यवसायी महासंघ नेपालका अध्यक्ष शंकर पाण्डेले अमेरिका तर्फको निर्यातको मात्रा बढाउन आवश्यक भएकोमा जोड दिए ।

नेपाल र अमेरिकाबीच सन २०११ मा टिफा सम्झौता भएको थियो । यो सम्झौताको खाका भएको हुँदा द्धिपक्षीय लगानी र व्यापारका लागि सम्झौत गर्नका लागि यसले आधार तयार पार्ने अपेक्षा गरिएको थियो । तर हालसम्म कुनै उपलब्धि हुन सकेको छैन ।

हाल सुविधा गुम्ने अवस्था आएको हुँदा अमेरिकाको निर्यात घटन सक्नेमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन । अमेरिका नेपालको दोस्रो ठूलो निर्यात गन्तव्य हो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours