पशुपतिमा तीजको रौनक, छाता ओढ्दै पूजा गर्दै भक्तजन

२१ भाद्र, काठमाडाैँ । शुक्रबार देशभर हरितालिका (तीज) पर्व धुमधामकासाथ मनाइँदैछ। तीज पर्वका अवसरमा बिहानैदेखि देशभरका शिवालयहरुमा पूजा तथा दर्शन गर्ने भक्तजनहरुको घुँइचो लागेको छ।

भक्तजनहरुले झरीको प्रबाह नगरी तीज मनाइरहेका छन्। भाद्र शुक्ल तृतीयाका दिन मनाइने तीजका अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा छाता ओढ्दै पूजा गर्ने भक्तजनहरुको भिड लागेको छ।

दर्शनार्थीहरुको सहजताका लागि मन्दिरका चारवटै ढोका खुला गरिएका छन्। मन्दिर प्रवेश गर्न चारवटा लाइन व्यवस्था गरिएको छ।

रातो, पँहेलो र हरियो पहिरनमा सजिएका महिलाहरु छुट्टाछुट्टै समूहमा नाचगान गरि तीज पर्व मनाइरहेका छन्। भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीजको दिन व्रतालुले शिव–पार्वतीको विशेष पूजा आराधना गर्दछन्। जसले गर्दा परिवारमा सुख, शान्ति र कल्याण हुने धार्मिक विश्वास छ।

सत्य युगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकी कथा छ। त्यसैले आजको दिन निराहार व्रत बसेर विधिपूर्वक शिवपार्वतीको पूरा गरे मनोकामना पूरा हुने विश्वास छ। यही विश्वासका साथ व्रतालुहरुको आज बिहानैदेखि पशुपतिनाथ मन्दिर लगायतका शिवालयहरुमा गएर पूजा गरिरहेका छन्। कतिपयले घरमै पूजा गरेर तीज मनाइरहेका छन्।

तीजको अवसरमा महिलाहरुले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई गीतका माध्यमबाट सार्वजनिक पनि गर्दछन्। उनीहरु भेला भएर सुखदुःखका भावका गीत र भजन गाउँदै नाचगान गर्दछन्।

You May Also Like

More From Author

+ There are no comments

Add yours