२० भदाै, काठमाडौँ । यही भदौ २४ गतेदेखि अनिवार्य अवकाश प्राप्त गर्दै गरेका नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको सम्मानमा बुधबार जङ्गी अड्डामा विशेष समारोहका बीच बिदाइ कार्यक्रम गरिएको छ । करिब ४२ वर्ष लामो अनवरत सैनिक सेवा एवं प्रधानसेनापतिको तीन वर्षे कार्यकाल सम्पन्न गरी उनी अवकाश हुन लागेका हुन् ।
कार्यक्रममा प्रधानसेनापति शर्माले नेपाली सेनालाई सम्झनास्वरूप उपहार प्रदान गरेका थिए भने नेपाली सेनाको तर्फबाट प्रधानसेनापतिलाई कामु प्रधानसेनापति अशोकराज सिग्देलले सम्झना स्वरूप उपहार प्रदान गरेका थिए । त्यसैगरी सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक टेकप्रसाद राई र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापाले प्रधानसेनापति शर्मालाई सम्झना स्वरूप उपहार प्रदान गरे । यस्तै सैनिक श्रीमती संघकी अध्यक्ष तथा कायममुकायम अध्यक्षबीच सम्झनास्वरूप उपहार आदानप्रदान भएको थियो ।
त्यस अवसरमा पूर्वप्रधानसेनापतिहरू, पूर्वरक्षा सचिवहरू, नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त रथीवृन्द, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, रक्षा मन्त्रालयका पदाधिकारीहरू, सैनिक श्रीमती संघका पदाधिकारीहरू, अधिकृत, सञ्चारकर्मीहरूलगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
यसअघि प्रधान सेनापति शर्माले कामु प्रधानसेनापति सिग्देललाई नेपाली सेनाको झन्डा, प्रधानसेनापतिको झन्डा तथा छडी हस्तान्तरण गरेका थिए भने प्रधानसेनापति शर्माको सम्मानमा एक टुकडीले सम्मान गारद समेत अर्पण गरेको थियो ।
+ There are no comments
Add yours