स्वास्थ्य परीक्षणको गुणस्तर र प्रणाली सुधार्न कार्यदल गठन

१८ भदौ, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विदेशिने श्रमिकको स्वास्थ्य परीक्षण (मेडिकल चेक)लाई वस्तुनिष्ठ तथा वैज्ञानिक बनाउनेबारे अध्ययन समिति गठन गरेको छ ।

वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षणमा चलखेल हुने र राम्रो परीक्षण नहुँदा विदेश पुगेर श्रमिक पीडित हुनुपर्ने अवस्था बढ्दै गएपछि मन्त्रालयले एक विज्ञ समिति गठन गरेर सुझाव मागेको हो ।

१३ भदौको मन्त्रिस्तरीय निर्णयानुसार वैदेशिक रोजगार नियमावली, २०६५ को दफा ४६ बमोजिम डा. दिपेन्द्ररमण सिंहको संयोजकत्वमा विशेषज्ञ चिकित्सकहरु सम्मिलित १६ सदस्यीय कार्यदल गठन भएको हो ।

श्रमिकको स्वास्थ्य प्रतिवेदनलाई अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम बनाएर विद्यमान जनगुनासो र समस्यालाई व्यवस्थित गर्न समिति गठन गरिएको मन्त्रालयका सहायक प्रवक्ता कविराज उप्रेतीले जानकारी दिए ।

समितिले आगामी दिनहरुमा श्रमिकको स्वास्थ्य परीक्षणलाई सहज र सरल बनाउने सम्बन्धमा अध्ययन गरी तोकिएको कार्य विवरण अनुसार सुझावहरु दिनेछ । गठित कार्यदलले अकुपेसनल हेल्थ, ननकम्युनिकेबल डिजिज, टेलिमेडिसिन, मेन्टल हेल्थ, सकाइकोलोजिक काउन्सिङलगायत विषय समेटेर प्रतिवेदन दिनेछ ।

साथै स्वास्थ्य परीक्षण प्रणालीलाई डिजिटलाइज र ट्रयाकिङ गर्ने विषयमा समेत एक महिनाभित्र कार्यदलले सिफरिसहितको प्रतिवेदन दिने सहकायक प्रवक्ता उप्रेतीले एक विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours