अमेरिकी जलवायु दूत जोन पोडेस्ता चीन भ्रमणमा जाँदै, जलवायु परिवर्तनकाे मुद्दा मुख्य प्राथमिकता

१८ भदाै, काठमाडाैं । अमेरिकी जलवायु दूत जोन पोडेस्ता ३ दिने भ्रमणका लागि बुधबार चीन जाने भएका छन् । चिनियाँ समकक्षी लिउ झेनमिनसँग भेटेर जलवायु परिवर्तनसम्बन्धी मुद्दामा छलफल गर्नु भ्रमणको उद्देश्य रहेको बताइएकाे छ ।

भेटमा उनीहरूले आ–आफ्नो देशका जलवायु नीतिहरू, बहुपक्षीय जलवायु प्रक्रियामा सहकार्य र व्यावहारिक सहकार्यको विषयमा विचार विमर्श गर्नेछन् । भेटमा पोडेस्ता र लिउले नोभेम्बरमा अजरबैजानको बाकुमा आयोजना हुने कोप–२९ सम्मेलनको तयारीका बारेमा समेत चर्चा गर्नेछन् ।

यसअघि मे महिनामा जोन पोडेस्ता र लिउ झेनमिन वासिङटन डिसीमा पहिलो पटक भेट गरी मिथेन उत्सर्जन कम गर्ने सहकार्य गरेको स्थानीय मिडियाले जनाएको छ । यस्तै, पोडेस्ता र लिउले यस वर्षको सम्मेलनमा मिथेन र अन्य गैरकार्बन हरितगृह ग्यासको उत्सर्जन घटाउन सहकार्य गर्ने बाचा गरेका छन् ।

तेल र प्राकृतिक ग्यासको उत्पादनसँगै कृषि गतिविधिबाट मिथेनको उत्सर्जन हुने गर्छ । मिथेन सबैभन्दा धेरै उत्सर्जन हुने दोस्रो प्रचुर हरितगृह ग्यास हो । र चीन यसको प्रमुख उत्सर्जकमध्ये एक हो । चीनले मिथेन उत्सर्जन कम गर्ने बाचा गरे पनि विश्वव्यापी मिथेन उत्सर्जन कम गर्ने अमेरिकी र युरोपेली संघको प्रस्तावमा हस्ताक्षर भने गरेको छैन ।

यो भेटमार्फत् दुई पक्षले मिथेन उत्सर्जनको निगरानी र नियन्त्रणका लागि नयाँ मापदण्ड र प्रविधिहरूको विकास गर्न सहकार्य गर्नेछन् । जलवायु परिवर्तन विरुद्धको लडाइँमा चीन र अमेरिकाबीचको यो सहकार्यले समग्र विश्वका जलवायु प्रयासमा सकारात्मक प्रभाव पार्न सक्ने विश्वास गरिएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours