प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार दिन आवेदन र सिफारिस माग

१८ भदौ, काठमाडौं । सरकारले यो वर्ष प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार वितरणका लागि तयारी थालेको छ ।

प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना तथा सञ्चालन कार्यविधि २०७८ अनुसार अनुदान सहयोग वितरण मापदण्ड २०८१ बमोजिम पुरस्कार र प्रोत्साहन वितरण गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले तयारी गरेको हो ।

१५ साउनमा सचिवहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतलाई प्रदान गरिएको पुरस्कार वार्षिक रुपमा वितरण हुन नसकेको भन्दै ध्यानाकर्षण जनाएका थिए । त्यसपछि प्रधानमन्त्री कार्यालयले त्यसको तयारी गरेर १ असोजमा पुरस्कार वितरण गर्ने तय गरेको छ ।

१४ भदौमा सार्वजनिक सूचना प्रकाशन गरेर पुरस्कार तथा अनुदान सहयोगका लागि आवेदन माग गरिएको छ ।

मुलुकमा शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा अन्वेषणको क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याउने प्रतिभाशाली व्यक्तिलाई यो पुरस्कार तथा अनुदान सहयोग दिने व्यवस्था कार्यविधिमा छ ।

बालबालिका, युवा र अन्य खालका प्रतिभाहरुमध्येबाट उत्कृष्टलाई वर्षैसाल २० लाख रुपैयाँ पुरस्कार राशीको राष्ट्रिय प्रतिभा पुरस्कार दिने व्यवस्था छ । यस्तै क्षेत्रमा काम गरिरहेकाहरुलाई ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा अनुदान सहयोग’ दिने कार्यक्रम पनि छ ।

प्रधानमन्त्री कार्यालयले प्रत्येक सथानीय तहबाट यो पुरस्कार तथा अनुदानका लागि २/२ जनाको नाम मागेको छ । २४ भदौभित्र स्थानीय तहले पठाएका नाम समेत समावेश गरेर पुरस्कार सिफरिस गरिनेछ ।

१७ मंसिर २०७५ मा सरकारले दुई करोड २० लाखको कोष स्थापना गर्दै पुरस्कार दिने निर्णय गरेको थियो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours