तीन वर्षदेखि लिलामीमा बिक्री हुन नसकेको त्यो इटहरी मल …

१८ भदौ, काठमाडौं । आर्थिक कृयाकलाप आएको सुस्तताका कारण धेरैले व्यापार व्यवसायबाट हात उठाइरहेका छन् । कोरोना महामारी यताको व्यापार व्यवसायको शैली र क्षेत्र नै अलग धारमा दौडिरहेका बेला घर जग्गाको कारोबार अपेक्षित हुन सकिरहेको छैन ।

जसका कारण घरजग्गा कारोबारलाई केन्द्रमा राखेर आएकाहरु व्यवसायिक सुस्तताका कारण बैंकको ऋण समेत तिर्न नसकेर समस्यामा परिरहेका छन् । यसको उदाहरण बनेको छ कोशी प्रदेशको इटहरीमा रहेको एउटा व्यवसायिक मल, इटहरी मल ।

सुनसरीको इटहरीमा रहेको इटहरी मल निर्माण तथा सञ्चालनका क्रममा स्थानीय व्यवसायी रेवती दुलालले एनआईसी एशिया बैंकबाट करोडौं रुपैयाँ ऋण लिए । दुलालको व्यवसायिक योजना अनुसार बैंकबाट कर्जा स्वीकृत भएपछि मल निर्माण भएर व्यवसायिक रुपमा सञ्चालनमा आयो ।

सिनेमा हल नभएको इटहरीमा आई सिनेमा सोही मलमा सञ्चालनमा आयो । विभिन्न बैंक वित्तीय संस्थाले पनि सोही मललाई आफ्नो कार्यालय बनाए । केही वर्ष मल औषत अवस्थामा सञ्चालन भयो, बैंकको ऋणको किस्ता पनि नियमित जस्तै भुक्तान हुँदै गयो ।

तर कोरोना महामारीका कारण विश्व अर्थतन्त्र नै अलमलिएका बेला मललाई पनि आर्थिक समस्या उत्पन्न भयो । कोरोना महामारी सकिएर बजार लयमा फर्किँदै गर्दा पनि मलले बैंकको कर्जाको किस्ता भुक्तान गर्न सकेन । एनआईसी एशिया बैंकले ४ वर्षपहिलेसम्म मलका सञ्चालक दुलाललाई ऋणको किस्ता नियमित गर्न ताकेता गरिरह्यो । तर अन्य स्थानको घरजग्गा कारोबारमा आएको सुस्ततासँगै मल पनि प्रभावकारी रुपमा सञ्चालन हुन सकेन र मलका सञ्चालक दुलालले कर्जा भुक्तानी गर्न नसकेको भन्दै एनआईसी एयिशा बैंकले ३ वर्ष पहिले २०७८ सालमा इटहरी मल आफ्नो स्वामित्वमा खिच्यो र मल लिलामीको प्रकृया अघि बढाउँदै पहिलो पटक मल लिलामीमा राखिएको सूचना निकाल्यो ।

मलका सञ्चालक र बैंकको व्यवहारको विषय बाहिर आएपछि मलमा रहेका व्यवसायिक ब्राण्डहरु क्रमिक रुपमा स्थानान्तरण तथा बन्द हुँदै गए । यता लिलामी सूचना निकाल्न थालेको बैंकले २ साताको म्याद राख्दै पटक पटक मल सकार्नका लागि लगानीकर्ताको खोजी गरिरह्यो । यो क्रम पछिल्लो पटक २०८१ भदौ २ गते बैंकले निकाले मल लिलामीको सूचनासम्म आईपुगेको छ ।

बैंकका अनुसार पछिल्लो पटक भदौ १६ गतेसम्मको म्याद राखेर सूचना निकालिए पनि लिलामी प्रकृयामा सहभागी हुनका लागि कसैको आवेदन परेको छैन ।

You May Also Like

More From Author

+ There are no comments

Add yours