मन्त्रालयप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिने मनाङेको चेतावनी

१७ भदौ, पोखरा । गण्डकी प्रदेशको वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका दीपक मनाङेले असन्तुष्टि जनाउँदै राजीनामा दिने चेतावनी दिएका छन् । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय एमालेलाई दिएर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका थिए ।

कम प्रभाव भएको मन्त्रालय दिएको र वरीयता पनि घटाइएको भन्दै मनाङेले असन्तुष्टि जनाउँदै राजीनामा दिने बताएका हुन् । उनलाई छैठौं वरीयतामा राखिएको छ । यसअघि ५ जनामन्त्री हुँदा उनी तेस्रो नम्बर वरीयतामा थिए ।

मन्त्रीहरुको शपथ ग्रहण कार्यक्रममा गएपनि कम प्रभाव भएको मन्त्रालय र वरीयता पनि घटाइएको भन्दै असन्तुष्टि जनाएका थिए । मनाङे कार्यक्रमस्थलबाट पनि रिसाउँदै निस्किएका थिए ।

मन्त्री मनाङेले मन्त्रालयबारे छलफल गर्न स्वकीय सचिव सन्तोष अधिकारीलाई मुख्यमन्त्री कार्यालय पठाएका छन् । वन मन्त्रालयका सचिवसमेत छलफलमै रहेको जानकारी दिए । मनाङे मन्त्री रहेको भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी एमालेका प्रकाशबहादुर केसीले पाएका छन् ।

वन मन्त्रालयको जिम्मेवारी पाएपछि असन्तुष्ट मनाङे पदभार नै ग्रहण गर्न गएका छैनन् । गण्डकीमा ४ जना एमालेका मन्त्री नियुक्त गर्दै मुख्यमन्त्री पाण्डेले सोमबार मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours