नेपालगञ्ज आईसीपीलाई प्रभावकारी बनाउन पहल गर्छुः अध्यक्ष प्रचण्ड

१७ भदाै, राँझा (बाँके) । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालगञ्ज एकीकृत जाँचचौकी (आईसीपी)लाई थप प्रभावकारी बनाउन आवश्यक पहल गर्ने बताएका छन्।

माओवादी केन्द्रको लुम्बिनी प्रदेशस्तरीय आन्तरिक प्रशिक्षणका क्रममा नेपालगञ्जमा रहेका प्रचण्डले सोमबार बिहान नेपालगञ्ज आईसीपीको स्थलगत अवलोकन गर्दै भने, “गौरव गर्न लायक संरचना निर्माण भएको छ, यसलाई प्रभावकारी बनाउन हामी सबै लाग्नु पर्छ।”

आईसीपी मुलुकका सबै नाकामा बनाउने सरकारी नीति रहेको उल्लेख गर्दै उनले पहिला बनेका आईसीपीले केही समस्या झेल्नुपर्ने हुनसक्ने बताए।

आफू प्रधानमन्त्री हुँदा भारत भ्रमणमा रहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै नयाँ दिल्लीबाट नेपालगञ्ज आईसीपीको संयुक्त रूपमा स्वीच अन गरी भर्चुअल माध्यमबाट शुभारम्भ गरेको सम्झना गर्दै उनले यसको प्रभावकारी सञ्चालनका लागि सदैव तत्पर रहेको उल्लेख गरे।

आईसीपीमा भन्सार जाँचपासका लागि आवश्यक पर्ने भन्सार कार्यालय, बैंक, पशु क्वारेन्टिन, प्लान्ट क्वारेन्टिन, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यारेक लगायत कर्मचारीको आवासगृह निर्माण गरिएको छ।

भारत सरकारको एक अर्ब ४७ करोड भारु लागतमा ८८ बिघा क्षेत्रफलमा नेपालगञ्ज उपमहानगरपालिका–१६ जयसपुरमा आईसीपी निर्माण भई सञ्चालनमा आएको छ। सो अवसरमा पूर्व अर्थमन्त्री एवं पार्टी उपमहासचिव वर्षमान पुन लगायत नेताहरूको सहभागिता रहेको थियो।

RSS Error: WP HTTP Error: cURL error 28: Operation timed out after 10002 milliseconds with 0 bytes received

You May Also Like

More From Author

+ There are no comments

Add yours