ट्राफिक जामले अस्तव्यस्त बन्यो काठमाडौँ

१६ भदाै, काठमाडौं । ट्राफिक जामले आइतबार काठमाडौँ महानगर अस्तव्यस्त बनेको छ। सहकारी पीडित र निर्मला कुर्मीलाई न्याय दिनुपर्ने माग गर्दै भएका आन्दोलनका कारण काठमाडौँको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको हो।

आन्दोलनका कारण सुन्धारा, रत्नपार्क, भद्रकाली, पुतलीसडक, माइतीघर लगायतका मुख्य स्थानका सडकमा सवारी साधनको लामो लाइन लागेको छ।

सिंहदरबार घेराउको आह्वान गर्दै आज सहकारी पीडितहरु रत्नपार्क क्षेत्रमा सयौँको सङ्ख्यामा भेला भएका छन्। जसका कारण उक्त क्षेत्रको ट्राफिक अवस्था अस्तव्यस्त बनेको छ।

यस्तै आजै बाँकेकी निर्मलादेवी कुर्मीको हत्या आरोपी बादशाह कुर्मीलाई लुम्बिनीमा नेपाली कांग्रेसले मन्त्री बनाएको विरोधमा काठमाडौंको माइतीघर मण्डलदेखि बालुवाटारसम्म खाली खुट्टा हिँडेर प्रदर्शन गरिएको छ।

उनीहरु साउन २५ गतेदेखि कंकलीदेखि माइतीघरसम्म हिँडेर आएर धर्ना बसेका थिए। तीन सातादेखिको धर्नामा सरकारले चासो नदेखाएपछि आइतबार माइतीघर मण्डलदेखि बालुवाटारसम्म खालीखुट्टा हिँडेर प्रदर्शन गरिएको अभियन्ता रूबी खानले जानकारी दिइन्।

उक्त धर्ना र मार्चपासका कारण महानगरका विभिन्न स्थानमा सवारी अवागमन ठप्प जस्तै भएको छ।

आन्दोलनकारीहरुले बादशाह कुर्मीलाई मन्त्री पदबाट हटाउनुपर्ने, निर्मला कुर्मी हत्या मुद्दा तत्काल अदालत पुर्‍याउनुपर्ने र आन्दोलनकारीहरूको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने माग गरेका छन्।

You May Also Like

More From Author

+ There are no comments

Add yours