‘नेपाल हरित हाइड्रोजनको युगमा प्रवेश’

केदार तिमल्सिना

१५ भदौ, बनेपा ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल हरित हाइड्रोजनको युगमा प्रवेश गरेको बताउनुभएको छ । काठमाडौँ विश्वविद्यालय (केयु) को २९ औँ दीक्षान्त समारोह (दोस्रो चरण) लाई शुव्रmबार सम्बोधन गर्दै विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री ओलीले हाइड्रोजन उत्पादनको क्षेत्रमा केयुले सुरु गरेको अनुसन्धान नेपालका लागि ऐतिहासिक सुरुवात रहेको धारणा व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “आज विश्वविद्यालयले भिœयाएको हाइड्रोजन कार चढेर हाइड्रोजन रिफ्युलिङ सेन्टरको उद्घाटन गर्ने अवसर पाएँ । हाइड्रोजनको ल्याब नेपालको इतिहासमा सानो ठाउँमा, सानो उत्पादन होला, पहिलो कार होला, अलिकति मिटर घुम्यो होला तर यो एउटा ऐतिहासिक सुरुवात हो । आजबाट हामी हरित हाइड्रोजनको युगमा प्रवेश गरेका छौँ ।”

उहाँले काठमाडौँ विश्वविद्यालयले हाइड्रोजनको अनुसन्धान गर्नुअघि नै आफू सन् २०१९ मा प्रधानमन्त्री भएको समयमा पानीबाट अक्सिजन र हाइड्रोजन छुट्याएर हाइड्रोजन ग्यास निकालेर ग्रिन हाइड्रोजनबाट गाडी, हवाईजहाज चलाउन सकिन्छ भनेर अध्ययन गर्न अनुरोध गरेको र आफ्नो उक्त अनुरोधलाई विश्वविद्यालयले पूरा गरेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “फलाम, सिमेन्ट उद्योग हरित हाइड्रोजन ऊर्जाबाट कसरी सञ्चालन गर्न सकिन्छ वा केमिकल फर्टिलाइजरको उद्योग बनाउने सरकारको योजना अनुरूप उक्त उद्योगलाई कसरी सञ्चालन गर्न सकिन्छ जस्ता कुरामा केयुले रिसर्च गर्न खोजेको छ । यो अत्यन्तै राम्रो कुरा हो ।”

आफू प्रधानमन्त्री हुँदा दुई ठुला खनिज उद्योगको अध्ययन, परीक्षण गर्न लगाएको भन्दै उहाँले धौवादी खनिज कारखानाबाट कच्चा पदार्थ चीन पठाएर त्यसको सफल परीक्षण गर्दा उक्त कारखानामा फलामको राम्रो सम्भाव्यता देखिएको स्मरण गर्नुभयो । धौवादी फलाम खानीमा अहिले उत्खननभन्दा अघि गर्नुपर्ने ड्रिलिङलगायतको काम भइरहेको भन्दै प्रधानमन्त्री ओलीले उक्त खानीमा सयौँ वर्षसम्म प्रयोग गर्न सकिने फलामको मात्रा रहेको बताउनुभयो । तनहुँको मिनम खानीमा समेत फलाम रहेको भन्दै उहाँले उक्त खानी परम्परागत रूपमा सञ्चालन भएको हुँदा त्यसलाई समेत आधुनिक तरिकाले सञ्चालन गर्नेतर्फ सरकारको ध्यान जाने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले पछिल्लो माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा ५० प्रतिशतभन्दा बढी विद्यार्थी अनुतीर्ण भएको भन्दै आगामी वर्षको परीक्षामा अहिलेको नतिजालाई सुधार गर्दै ७० प्रतिशत विद्यार्थी उत्तीर्ण गराउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “आगामी वर्षको एसइई परीक्षाको नतिजा ७० प्रतिशत पु-याउन सरकारले देशभर गणित, अङ्ग्रेजी, सामाजिक, ऐच्छिक गणितलगायतका विषयको विशेष अनलाइन कक्षा सञ्चालन गरिने छ ।”

प्रधानमन्त्री ओलीले आफूले आफ्नो निर्वाचन क्षेत्रका विद्यार्थीलाई लक्षित गर्दै सञ्चालन गरिएको अनलाइन विशेष कक्षाका कारण विद्यार्थी उत्तीर्ण दरमा राम्रो सुधार भएकाले सोही कार्यव्रmमबाट उत्साही भएर देशभर अनलाइन कक्षा सञ्चालन गर्न लागेको जानकारी दिनुभयो । उहाँले आगामी वर्षका लागि अनलाइन कक्षा सञ्चालनका लागि शिक्षा मन्त्रालय, नेपाल टेलिकमलगायतका निकायलाई आवश्यक व्यवस्था मिलाउन अनुरोध गरिएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले पछिल्लो समय एसइई परीक्षासँगै कक्षा १२ को परीक्षाको नतिजासमेत कमजोर रहेको भन्दै त्यसको सुधारका लागि ध्यान जाने बताउनुभयो । उहाँले यतिबेला देशको अर्थतन्त्र, मौद्रिक अवस्था नाजुक रहेको भन्दै यस्तो अवस्थामा समेत सरकारले शैक्षिक क्षेत्रको उन्नयनका लागि आफ्ना प्रयास अगाडि बढाएको बताउनुभयो ।

समारोहमा वरिष्ठ संस्कृतिविद् डा. जगमान गुरुङले काठमाडौँ विश्वविद्यालयले प्राच्य ज्ञान र शिक्षाका केही आयाममा योगदान गर्ने उद्देश्यले सोही अनुरूपका कार्यक्रम सञ्चालन गरेको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले विद्यार्थीलाई आफूले प्राप्त गरेको शिक्षालाई व्यवहारमा लागु गर्न सुझाव दिनुभयो ।

विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले विश्वविद्यालयमा गत वर्ष १५ प्रतिशत विद्यार्थी भर्ना वृद्धि हुनुले विश्वविद्यालयले गरेका प्रयास सफल भएको प्रमाणित गरेको बताउनुभयो । उहाँले विश्वविद्यालयले आफ्ना शैक्षिक कार्यक्रमलाई अन्तर्राष्ट्रियकरण गर्न थालनी गरेको बताउनुभयो । उहाँले विश्वविद्यालयले अन्तर्राष्ट्रिय उच्च शिक्षाका संस्थाहरूसँगको सहकार्यमा डबल डिग्री र संयुक्त डिग्री कार्यव्रmमसमेत सञ्चालन गरेको जानकारी दिनुभयो ।

दीक्षान्त समारोहमा स्कुल अफ आर्टस्, साइन्स, एजुकेसन, इन्जिनियरिङ, म्यानेजमेन्ट, मेडिकल साइन्सेज विधाका दुई हजार ३१४ विद्यार्थी दीक्षित भएका थिए । समारोहमा चान्सलर स्वर्ण पदकबाट मिजला चित्रकार, भाइस चान्सलर स्वर्ण पदकबाट मुकेश तिवारी, भाइस चान्सलर स्वर्ण पदक (एमबिबिएस) तर्फ स्वीकार दाहाल, न्हुछेरत्न तुलाधर स्वर्ण पदकबाट रस्मिता पौडेल, रमेशप्रसाद सिंह स्वर्ण पदकबाट अर्जुन दास र महेशनाथ पराजुली स्वर्ण पदकबाट रनिषा पौडेललाई प्रदान गरिएको थियो ।

यसैबिच काठमाडौँ विश्वविद्यालयको दीक्षान्त समारोहमा सरिक हुन नेपाली सेनाको एनए ०७६ हेलिकोप्टरमा धुलिखेल आउनुभएका प्रधानमन्त्री ओली चढेको हेलिकोप्टरमा समस्या देखिएपछि अर्को हेलिकोप्टरबाट काठमाडौँ फर्कनुभएको छ । सुरुमा आएको हेलिकोप्टरमा प्राविधिक समस्या देखिएपछि नेपाली सेनाको एमआई १७ हेलिकोप्टरमार्फत फर्कनुभएको हो । समस्या देखिएको हेलिकोप्टर काठमाडौँबाट आएको प्राविधिक टोलीले मर्मत गरेपछि केही समयमा काठमाडौँ फर्केको थियो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours