नेवानिको लापर्बाहीले यात्रुलाई सास्ती

१४ भदौ, काठमाडौँ । नेपाल वायु सेवा निगमको व्यवस्थापकीय कमजोरी र लापरबाहीका कारण निगमको जहाजमार्फत हवाई सेवा लिने यात्रु सास्ती भोग्न बाध्य छन् ।

यसअघि लगेज फुटेको, यात्रुलाई बेवास्ता गरेको, यात्रुलाई अलपत्र पारेकोलगायतका गुनासा आउने गरेकोमा पछिल्लो समय एकैपटक तीन वटा जहाज ग्राउन्डेड भएपछि सयौँ यात्रु मर्कामा परेका हुन् ।

राष्ट्रिय र अन्तर्राष्ट्रियतर्फको उडान प्रभावित हुँदा निगमले दैनिक ठुलो आर्थिक नोक्सानी मात्रै बेहोरेको छैन, राज्यलाई हुँदै आएको ठुलो आम्दानीमा समेत क्षति थपिँदै गएको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहीबारको बैठकमा समेत सांसदहरूले यात्रुले भरिभराउ भएर उडान हुनुपर्ने समयमा एकै समयमा तीन वटा जहाज ग्राउन्डेड हुँदा जनताले दुःख भोग्दै निगम धराशायी हुँदै जानु चिन्ताको विषय बनेको टिप्पणी गरेका छन् ।

जहाज ग्राउन्डेड भएपछि जापान, हङकङ, दोहा र दुबई, भारतलगायतका गन्तव्यको आम्दानी मात्रै गुमेको छैन, उक्त गन्तव्यमा जान टिकट काटिसकेका यात्रु तोकिएको समयमा उडान हुने नहुनेबारे अन्योलमा छन् ।

उडानतालिका अनुसार विमानस्थल पुगिसकेका यात्रु उडान रद्द भएपछि निगमले अन्य हवाई कम्पनीमार्फत गन्तव्यमा पठाउँदा ठुलो धनराशि खर्च हुनुका साथै पैसा देशबाहिर गइरहेकोमा सांसदले आपत्ति जनाएका छन् ।

जहाजको कुन उपकरण कहिले परिर्वतन गर्ने, कति उडानपछि जहाज ग्राउन्डेड हुँदै छ भन्नेबारे निगम व्यवस्थापन जानकार रहे पनि आवश्यक पार्टपुर्जा कहाँबाट मगाउने, मगाएको पार्टपुर्जा कहिलेसम्म आइपुग्छन् भन्नेबारे पूर्वयोजना नहुँदा निगम धराशायी बन्दै गएको सांसदहरूको धारणा छ ।

इन्जिन मर्मत तथा सम्पूर्ण परीक्षणका लागि विदेश पुगेका जहाजसमेत तोकिएको समयमा नफर्कने रोगका कारण निगमले एउटा न्यारोबडी ग्राउन्डेड हुँदा दैनिक सवा करोड र एउटा वाइडबडी जहाज ग्राउन्डेड हुँदा दैनिक एक करोड ६० लाख रुपियाँ आम्दानी गुमाउँदै आएको छ ।

समितिका सभापति राजकिशोर यादवले हवाई सेवाजस्तो संवेदनशील विषय र अन्तर्राष्ट्रिय रूपमा नेपालको मान राख्ने विषयको उचित व्यवस्थापन नहुनु निगम बस व्यवसायीभन्दा कमजोर पूर्वयोजना अनुसार चलेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “बस चलाउने मान्छेले पनि कसरी यात्रालाई निरन्तरता दिने भन्नेबारे पूर्वयोजना अनुसार काम गर्दै आएको अवस्थामा निगमले पूर्वतयारी र योजना कार्यान्वयनमा चुक्न मिल्दैन ।”

सांसद देवीप्रकाश भट्टचन र पशुपतिशमशेर जबराले आर्थिक रूपमा कमजोर बन्दै गएको निगम अहिलेकै अवस्थामा चल्न नसक्ने बताउँदै निजीकरण गर्नुपर्ने प्रस्ताव राख्नुभयो । उहाँहरूले निजी कम्पनीका जहाज कहिले ग्राउन्डेड नहुने तर निगमका जहाजमा मात्रै बारम्बार यही समस्या दोहोरिनुका कारण माग्नुभयो ।

सांसद सुनीता बरालले विश्वका धेरै देशमा दुई वटा जहाज हुँदा पनि राम्रोसँग उडान गरिरहेको भन्दै नाफामा पुगेको अवस्थामा निगमको नेतृत्वले राजनीतिक दललाई दोष दिएर समस्याबाट उम्कन नमिल्ने बताउनुभयो ।

सांसद उदयशमशेर जबराले निगमजस्तो ७५ प्रतिशत जहाज ग्राउन्डेड हुने मुलुक विश्वमा नेपाल मात्रै भएको बताउँदै मर्मतका लागि इजरायल, इटली जाँदा फर्कंदै नर्फकनुका कारणबारे प्रश्न उठाउनुभयो ।

सांसद सुदन किरातीले सार्वजनिक खरिद ऐन पुरानो भएका कारण पनि जहाज मर्मतलगायत समस्या भएको बताउँदै नीतिगत रूपमै समाधान गर्न आवश्यक रहेको बताउनुभयो । सांसद शिशिर खनालले जहाजका पाट्र्स कुन समयमा बनाउनु पर्छ भन्ने सबै सेड्युलमा हुँदा पनि तीन जहाज एकै पटक ग्राउन्डेड हुनु राम्रो नभएको बताउनुभयो ।

सांसदले उठाएका प्रश्नको जवाफ दिँदै निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले तीन पटक ठेक्का आह्वान गर्नुपरेको, विदेशमा पैसा पठाउन बैङ्कले ढिलाइ गरेको र पार्टपुर्जा खोल्दै जाँदा अन्य समस्या पनि देखिँदा जहाज मर्मतसम्भारमा ढिलाइ भएको तर्क राख्नुभयो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours