अर्थतन्त्रमा अटोमोबाइल क्षेत्रको योगदान महत्त्वपूर्ण छ : भौतिकमन्त्री

१३ भदौ, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपालको अर्थतन्त्रमा अटोमोबाइल क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको बताएका छन् ।

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले काठमाडौंमा आयोजना गरेको नाडा अटो शोको अवलोकनमा बिहीबार भृकुटीमण्डप पुगेका उनले यो क्षेत्रको विकासमा मन्त्रालय प्रतिबद्ध रहेको बताए ।

देशको यातायात, अर्थतन्त्र र रोजगारीमा अटोमोबाइल क्षेत्रले महत्त्वपूर्ण सहयोग पुर्‍याइरहेको उनको भनाइ छ ।

जनतालाई आधुनिक, सुलभ र सुरक्षित अटोमोबाइल सेवा पुर्‍याउन मन्त्रालय नाडासँग सहकार्यका लागि तयार रहेको समेत उनले बताए ।

अटोमोबाइल तथा यससँग सम्बन्धित उद्योग तथा व्यवसायले नेपालमा नै स्वरोजगारी समेत सृजना गरिरहेको भन्दै मन्त्री दाहालले प्रविधिमैत्री संरचना निर्माणलाई पनि मन्त्रालयले ध्यान दिने बताए ।

एसोसिएसनका अध्यक्ष करण चौधरी लगायतले अटो शो तथा नेपालमा अटोमोबाइल क्षेत्रका विभिन्न समस्या र सम्भावनाबारे मन्त्री दाहाललाई जानकारी गराए ।

You May Also Like

More From Author

+ There are no comments

Add yours