प्रधानमन्त्रीले गरे महिला भलिबल खेलाडीलाई पुरस्कार वितरण

१३ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘काभा वुमन्स भलिबल नेसन्स् लिग, २०२४’ प्रतियोगितामा सहभागी खेलाडीलाई पुरस्कार वितरण गरेका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कार्यक्रममा टोलीका कप्तान अरुणा शाहीसहित १४ खेलाडीलाई जनही तीन लाख, मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्टलाई दुई लाख, सहायक प्रशिक्षक भरत यादव, व्यवस्थापक निलमसिंह बज्राचार्यलाई र फिजियो लोकेन्द्र कुँवरलाई जनही एक लाख २० हजार राशिसहित पुरस्कार प्रदान गरिएको हो ।

गत साउन १७ देखि २३ गतेसम्म काठमाडौंमा भएको उक्त खेलमा नेपालले उत्कृष्ट प्रदर्शनसहित दोस्रो स्थान हासिल गरेको थियो ।

मन्त्रिपरिषद्को गत साउन ३१ गतेको निर्णयबाट सहभागी खेलाडी र प्रशिक्षलगायतलाई गरी कुल ४७ लाख ६० हजार पुरस्कार रकम दिने निर्णय गरेको थियो । यसअघि प्रधानमन्त्री ओलीले यही भदौ २ गते सहभागी खेलाडी र प्रशिक्षकलगायतसँग भलिबल खेलको विकासका लागि छलफल गरेका थिए ।

प्रधानमन्त्री ओलीले महिला भलिबल खेलाडीले हालसम्म पाएको सफलताप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा नयाँ कीर्तिमान कायम गर्ने गरी मिहिनेत गर्न आग्रह गरे

उनले आफ्नो पदबहालीका दिन कीर्तिपुर खेल मैदानलाई तीन सय दिनभित्र स्तरोन्नति गर्ने निर्णय गरेको स्मरण गर्दै त्यसको कार्यान्वयन गरिने अवगत गराउँदै दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको राम्रो तयारी गर्न सम्बन्धित निकायलाई निर्देशन दिए ।

दशरथ रंगशालाको खेल हुँदा मैदान हिलाम्मे हुनु दुःखद् भएको र उक्त रंगशालालाई स्तरीयबाहेक अन्य खेलमा दुरुपयोग नगराउन उनले निर्देशन दिए ।

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, खेल पदाधिकारी, प्रशिक्षक र व्यवस्थापकको उपस्थिति थियो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours