देख्ने र भोग्ने कुरा कति फरक हुँदा रैछन् – अभिनेत्री मलिका महतको ‘सतीदेवी’ अनुभव

०९ भदाै, काठमाडौँ । अभिनेत्री मलिका महतको फोनमा एक दिन रंग पत्रकारिता हुँदै सिनेमा लेखन, निर्माण तथा निर्देशनमा होमिएका निर्देशक लक्ष्मण सुवेदीको मोबाइल सन्देश आइपुगियो।

मोबाइल सन्देशमा सुवेदीको लेखन, निर्माण र निर्देशनमा बन्न लागेको ‘सतीदेवी’ सिनेमाको कथावस्तुको बेहोरा थियो।

उनले सुबेदीलाई फोन गरिन् र भनिन्- स्क्रिप्ट पठाइदिनुस् अनि अरु कुरा पछि गरौंला।

लक्ष्मणले सिनेमाको स्क्रिप्ट तुरुन्तै मलिकालाई पठाइदिए।

मलिकाले स्क्रिप्ट पढिन्।

मैले यो सिनेमा गर्नैपर्छ।’

‘सिनेमा आउँदैछ भनेर मात्र मैले भनेको होइन है’ भनेर स्पष्टीकरण दिँदै मलिकाले स्क्रिप्ट पढिसकेपछिको प्रभाव सम्झिँदै भनिन्- मैले आजसम्म पढेका स्क्रिप्टहरुमा आफू एकदमै जोडिन सकेको र मनपरेको स्क्रिप्ट हो। एउटा राम्रो किताब पढ्दा जस्तो अनुभव हुन्छ मैले त्यही अनुभव गरें।’

स्क्रिप्टमा उनले केही थप्नुपर्ने वा यो चाँहि बढी भयो भनेर हटाउनुपर्छ जस्तो कुराहरु भेटिनन्।

उनलाई स्क्रिप्ट एकदमै ‘पर्फेक्ट’ लाग्यो।

‘पढिरहँदा नै कथा मेरो मानसपटलमा दृश्य बनेर नाच्न थालेको थियो। स्क्रिप्ट पढ्ने बित्तिकै मलाई एउटै कुरा लाग्यो- मैले यो सिनेमा गर्नैपर्छ।’

मलिकाले सिनेमा आफू जोडिनु पछाडिको गुरुत्वाकर्षणको खुलासा गरिन्।

सिनेमामा सतीदेवी अधिकारी नामक किशोरी पात्रको भूमिका मलिका महतले निर्वाह गरेकी छन्।

उनले सतीदेवी पात्रको भोगाइझैं नभोगे पनि उनले त्यहाँ आफूलाई देखिन्।

‘स्क्रिप्ट पढिरहँदा मैले आफूलाई सतिदेवीका रुपमा आभास गरिरहेकी थिएँ। त्यही आभासले नै म कथासँग जोडिएँ।’


पर्दाको पात्रमा छिर्ने मलिकाको आफ्नै तरिका छ।

पात्रमा छिर्न मलिका पछिल्लो समय पात्रहरु सुहाउँदा गीतहरु सुन्छिन्। सतीदेवी पात्रका लागि पटकपटक स्क्रिप्ट पढिन्, सतिदेवीका सुखदुःखका भोगाइलाई ‘हाइलाइट’ गरिन् र सोको अन्तर्यमा पुर्‍याउने तत्व बोकेका गीतहरु खोजेर सुन्न थालिन्।

‘केही गीतहरु खोजे र ती गीतहरु सुन्दै, स्क्रिप्ट पढ्ने काम गरें। म एकदमै लेख्छु के अनि डायलग लेख्दै त्यसको, ‘थट प्रोसेस’हरु बनाउँदै तयारी गरें। सतीदेवीको छुट्टै जीवनी पनि लेखें मैले। त्यो गर्दाखेरि उसको जन्मदेखि मर्दासम्मको अन्तिम लक्ष्यसम्मको एउटा तयारी गरेर लेखेको थिएँ।’

यति गर्दा मलिकाले सतिदेवीको एउटा पूरा तस्बिरजस्तो बनाउन सकिन्, उनी के हुन्, कस्ती हुन् भनेर।

यी सबै कुराहरु समेटेर नोटबुक बनाइन् र सुटिङमा समेत साथै लगिन्।

सुटिङ सकेर सुत्नुअघि प्रत्येक रात उनी नोटबुक पढ्थिन् र भोलिपल्टको लागि आफूलाई तयार पार्थिन्।

पात्रमा छिर्न गीतहरु सुन्ने आइडिया मलिकालाई अभिनेता सौगात मल्लले दिएका हुन्। नेपाली रजतपटमा सौगात कस्ता अभिनेता हुन् भनिरहनै पर्दैन। त्यस्ता अभिनेताबाट अभिनेत्री मलिकाले पाएको यो गुरुमन्त्रले पात्रमा छिर्न गज्जबै सहयोग गर्‍यो।

मलिकाले सौगातसँग ‘अगस्त्य’ सिनेमामा काम गरेकी छन्। उनले गीतबाट पात्रमा छिर्ने आइडिया सो सिनेमाको सुटिङका दौरान पाएकी हुन्।

जब उनले सौगातबाट यो तरिकाको बारेमा सुनिन्, उनलाई सो तरिका मनपर्‍यो।

‘मलाई यो तरिका मनपर्‍यो। जब तपाईं कुनै रमाइलो-रोमान्टिक गीत सुन्नुहुन्छ। तपाईंको शरिरमा बेग्लै उर्जा सञ्चार हुन्छ, अनि दुःख बिछोडका गीत सुन्यो भने लोसेलोसे प्रकारको अनुभव गरिन्छ नि त। त्यसैले पात्रका लागि एउटा गीत खोज्न पायो भने राम्रो हुन्छ भन्ने मलाई लाग्‍यो।’

सतीदेवीका लागि मलिकाले केही गीतहरुको सूची तयार पारिन् र तिनमा पनि उनले सबैभन्दा धेरै अरुणा लामाको ‘पोहोर साल’ सुनिन्।

यो गीत पनि उनलाई सौगात मल्लले नै सुनाएका थिए।

‘सतीदेवी’मा काम गर्ने भएपछि उनले यो गीत सम्झिइन्- ओहो! यो त मेरो सतीदेवीलाई काम लाग्ने गीत हो।


काठमाडौंमा नै हुर्काइबढाइ भएकाले र घरको काम पनि आफ्ना दाजु तथा भाइसँग मिलेर बाढेर गर्नुपर्ने भएकाले मलिकाले असमानताको अन्याय घरभित्र त भोगिनन्। तर नेपाली किशोरी तथा महिलाहरुमाथिको दलनका बारेमा पढेकी तथा सुनेकी भने थिइन्। जब सुटिङमा गइन् र अभिनय गर्न थालिन्। उनलाई ती भोगाइहरुको गहिराइ र पीडाको अझ धेरै बोध भयो।

‘सुटिङ गर्दा बुझें, ओहो! यो त कसैको साँच्चिकैको जीवनमा घटेको घटना हो भनेर। त्यतिखेरचाँहि मलाई म कत्ति भाग्यमानी रहेछु भन्ने भयो। मैले त कल्पनासमेत गरेको थिइन, यस्तो भोग्नुपर्ने रहेछ। म त अहिले सिनका लागि गरिरहेको छु तर कसैले त साँच्चिकै जीवनमा भोगिरहेका छन्। मैले देख्ने कुरा र सतीदेवीले भोग्ने कुरा कति फरक रहेछन् भनेर मलाई पटकपटक भइराख्यो।’

यी कुराहरुले मलिका आफ्नो जीवनप्रति कृतज्ञ छिन्।

‘सुटिङ सकेपछि मलाई पटकपटक म त धेरै सुखमा बाँचिरहेकी छु, साह्रै भाग्यमानी रहेछु भन्ने मनमा भइराख्यो।’


छोरीमान्छे भएकै कारण ममाथि यस्तो नराम्रो भयो भन्ने अनुभव आफूलाई नभएको मलिकाको अनुभव छ। यसमा पनि उनले आफूलाई भाग्यमानी ठान्छिन्।

‘घर ढिला आउन नहुनेजस्ता सानोतिनो कुरो त छन्। तर म त्यो कुरा किन भन्ने बुझ्छु। त्यो कुरा सुरक्षाको लागि भनेर।’


यो सिनेमापछि आफ्नो अभिनयका बारेमा के भनिनेछ वा आफूलाई कहाँ पाउनेछिन् भन्ने बारेमा ठोस उत्तर मलिकासँग छैन्।

भन्छिन्- मैले दिन सक्ने उत्कृष्ट काम दिएको छु। सतीदेवीमा मैले धेरै नै मिहिनेत गरेको छु। मैले पछिल्ला प्रोजेक्टहरुबाट सिकेका र बटुलेका अनुभवहरु यसमा लगाएको छु। त्यो कुरा देखियोस् भन्ने आशा छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours