साफ यू-२० को फाइनल दशरथ रंगशालामा हुने

०९ भदाै, काठमाडौं । साफ यू-२० च्याम्पियनसिपको फाइनल खेल दशरथ रंगशालामा हुने भएको छ । आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले सामाजिक सञ्जालमार्फत् साफ यू–२० च्याम्पियनसिपको फाइनल खेल दशरथ रंगशालामा हुने जानकारी दिएको हो ।

लिग चरणको अन्तिम खेलमा भारतले माल्दिभ्सलाई १-० ले पराजित गरेपछि सेमिफाइनल समीकरण तयार भएको हो । समूह ‘बी’ मा भारत विजेता र भुटान उपविजेता बने । समूह ‘ए’ मा अपराजित नेपाल समूह विजेता तथा बंगलादेश उपविजेता रहेका थिए ।

अब पहिलो सेमिफाइनलमा आइतबार नेपाल र भुटान खेल्नेछन् । खेल दिउँसो ३ बजे एन्फा कम्प्लेक्समा हुनेछ । दोस्रो सेमिफाइनलमा सोही मैदानमा सोमबार भारत र बंगलादेशबीच खेलिनेछ । प्रतियोगिताको फाइनल भने बुधबार दशरथ रंगशालामा हुनेछ ।

फाइनल खेल भने साँझ ५ः३० बजे खेलाइने एन्फाले जनाएको छ । एन्फाले यसअघि नै एन्फा कम्प्लेक्समा हुने खेलका लागि टिकट मूल्य तीन सय रुपैयाँ तथा दशरथ रंगशालामा साधारणतर्फ दुई सय र भिआइपीतर्फ पाँच सय रुपैयाँ रहने पक्का गरिसकेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours