बैंकिङ कसुर मुद्दामा राजकुमार तिमल्सिना पक्राउ

०६ भदौ, काठमाडौं । प्रहरीले बैंकिङ कसुरको आरोपमा बुधबार साँझ एक युवकलाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार साँझ पेप्सीकोलाबाट राजकुमार तिमल्सिनालाई पक्राउ गरेको हो ।

उनीविरुद्ध दुई वटा बैंकिङ कसुरसम्बन्धी उजुरी रहेको प्रहरीले जनाएको छ । अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईका अनुसार जिल्ला प्रहरी परिसर भक्तपुरमा उनीविरुद्ध ९ लाखको र प्रहरी वृत्त गौशालामा ५ लाख ३५ हजार रुपैयाँको बैंकिङ कसुरसम्बन्धी उजुरी परेको छ ।

आरोपित तिमल्सिनाले भने गौशालाको उजुरीमा आफू धरौटीमा रिहा भएको बताएको एसएसपी भट्टराईले जानकारी दिए ।

तिमल्सिनाले दिएको अडियो कुराकानीलाई आधार बनाएर सिधाकुरा डटकमले केही महिनाअघि स्टिङ अपरेशनसम्बन्धी मुद्दामा न्यायाधीश र आमसञ्चार माध्यम सञ्चालकबीच सेटिङ भएको समाचार लेखेको थियो । उक्त समाचारविरुद्ध हाल सर्वोच्च अदालतमा अवहेलना मुद्दा विचाराधीन छ ।

प्रहरीको फरेन्सिक जाँचबाट उक्त अडियो गलत भएको पुष्टि भएपछि उनीसहित ३ जनाविरुद्ध प्रहरीको केन्द्रीय साइबर ब्यूरोले विद्युतीय अपराधको कसुरमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो ।

उक्त मुद्दाका उनी फरार प्रतिवादी हुन् । यस विषयमा समेत समन्वय गरेर अदालत उपस्थित गराउने तयारी प्रहरीको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours