‘स्त्री २’को अगाडि अक्षय र जोनको फिल्म निरीह

०५ भदाै, काठमाडाैं । पछिल्लो समय बलिउडमा ठूलो बजेटका र ठूला सुपरस्टारले खेलेका फिल्महरू बक्स अफिसमा लगातार नराम्ररी पिटिरहँदा सानो बजेटका फिल्महरूले व्यापारमा ‘सरप्राइज’ दिइरहेका छन् । यसको प्रष्ट सन्देश के हो भने अब फिल्म बजेट र ‘स्टार’को अनुहारले चल्दैन । ‘कन्टेन्ट’ नै सर्वैसर्वा हो । यतिबेला भारतीय बक्स अफिसमा फिल्म ‘स्त्री २’ले ल्याएको सुनामी पनि ‘कन्टेन्ट’को उपज हो ।

यो फिल्मको अगाडि बलिउडका दुई ठूला सुपरस्टारका फिल्म समेत निरीह बनेका छन् । गत शुक्रबार अर्थात् १५ अगस्टदेखि ‘स्त्री २’सहित अक्षय कुमारको ‘खेल खेल में’ र जोन अब्राहमको ‘वेदा’ एकसाथ प्रदर्शनमा आएका थिए । तर, ‘स्त्री २’ले अक्षय र जोनको फिल्मलाई बक्स अफिसमा पानी पनि माग्न नपाउने अवस्थामा पुर्‍याएको छ । अर्थात् दुईटै फिल्मको ‘फ्लप’ निश्चित भइसकेको छ ।

‘स्त्री २’ले भने ‘पेड प्रिभ्यू’ (९ करोड ४० लाख)सहित ५ दिनमै २ सय ४२ करोडमाथि व्यापार गरेको छ । यसको ओपनिङ विजनेश नै ५५ करोड ४० लाख थियो । दोस्रो दिन ३५ करोड ३० लाख, तेस्रो दिन ४५ करोड ७० लाख, चौंथो दिन ५८ करोड २० लाख र पाँचौं दिन ३८ करोड ४० लाख कमाई गरेको फिल्मले ५ सय करोडको आँकडा नघाउन सक्ने ट्रेड एनालिस्टहरूको आँकलन छ ।

‘स्त्री २’ले बक्स अफिसमा धमाका मच्चाइरहँदा अक्षय र जोनको फिल्मले भने २० करोडको आँकडा पनि टेक्न सकेका छैनन् । दुवै फिल्मले ५ दिनमा १५/१५ करोड बाँडेका छन् । यसरी हेर्दा एक सय करोडमा बनेको ‘खेल खेल में’ र ५० करोडमा बनेको ‘वेदा’ले लगानी उठाउने सम्भावना देखिँदैन । यसले बलिउडलाई अब ‘स्टार’मा होइन, ‘कन्टेन्ट’मा लगानी गर्नुपर्छ भन्ने पाठ सिकाएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours