कोषबाट दस अर्ब बयालिस करोड भुक्तानी

०५ भाद्र, काठमाडाैँ । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना अन्तर्गत १० अर्ब ४२ करोड रुपियाँ भुक्तानी गरेको छ । योगदानमा आधारित सुरक्षा योजना लागु गरेको साढे पाँच वर्षको अवधिमा ६२ अर्ब ७४ करोड सङ्कलन गरेको कोषले विभिन्न चार वटा योजनाका लागि कोषमा सङ्कलित रकमको १५ प्रतिशत भुक्तानी गरेको हो ।

सामाजिक सुरक्षा कोषका अनुसार सुरक्षा योजना अन्तर्गतका विभिन्न श्रमिक तथा उनीहरूका परिवारलाई दिएको भुक्तानीमा १० अर्ब ४२ करोड रुपियाँ खर्च भएको छ । कोषले विभिन्न चार योजनामा यस्तो भुक्तानी दिने गरेको छ । कोषका निर्देशक प्रवक्ता विवेक पन्थीले कोषमा सङ्कलन भएको रकमबाट माग दाबी अनुसार रकम भुक्तानी भएको बताउनुभयो । कोषले हाल सबैभन्दा बढी अवकाश दाबी भुक्तानी अन्तर्गत एक लाख ६३ हजार ३४३ जनालाई १० अर्ब ४२ करोड रुपियाँ भुक्तानी गरेको जनाएको छ ।

जसमा औषधी उपचार, स्वास्थ्य तथा मातृत्व योजना अन्तर्गत ७३ हजार ६४८ जनाले पटक पटक गरेर एक अर्ब २७ करोड २२ लाख ५० हजार ४१४ भुक्तानी लिएका छन् । दुर्घटना तथा अशक्तता सुरक्षा योजना अन्तर्गत तीन हजार ७६९ जनाले १४ करोड १६ लाख ७२ हजार १९८ रुपियाँ भुक्तानी लिएका छन् । आश्रित परिवार सुरक्षा योजना अन्तर्गत ५६१ जनाले १५ करोड ९७ लाख ८७ हजार ९८१ बराबरको रकम भुक्तानी लिएका छन् ।

त्यसै गरी वृद्ध अवस्था सुरक्षा योजना अन्तर्गत ८५ हजार ४५७ जनाले आठ अर्ब ४८ करोड ४६ लाख ५३४ रुपियाँ भुक्तानी लिएका छन् ।

कोषका अनुसार कोषमा हालसम्म १५ लाख ५९ हजार २२ योगदानकर्ता सूचीकृत भएका छन् । जसमा सबैभन्दा धेरै वैदेशिक रोजगारीतर्फका १० लाख ३८ हजार ९०६ जना रहेका छन् भने औपचारिकतर्फका रोजगारदाता १९ हजार ३९० र ती रोजगारदाता कम्पनी वा प्रतिष्ठानमा काम गर्ने पाँच लाख १९ हजार ६५७ योगदानकर्ता आबद्ध भएका छन् । अनौपचारिक र स्वरोजगारतर्फका क्रमशः २९९ जना र १६० जना रहेका छन् । कोषको योजनामा आबद्ध भएर विभिन्न योजनाको सुविधा लिनेमा अधिकांश औपचारिकतर्फका योगदानकर्ता रहेका छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours