पारम्परिक खेती छाडेर कफी खेती गर्दै गुल्मीका किसान

०३ भदाै, काठमाडाैं । गुल्मी सिर्सेनीका किसान यतिबेला परम्परागत रुपमा गर्दै आएको खेती छाडेर कफीखेतीमा लागेका छन् । परम्परागत रुपमा उत्पादन गर्दै आएको मकै र कोदोखेतीलाई छाडेर मदाने गाउँपालिका–३ का किसानहरु व्यावसायिक रुपमा कफीखेतीमा लागेका हुन् ।

मकै, कोदो लगायतका अन्नबालीलाई बाँदर, बँदेल, दुम्सी तथा चराचुङ्गीबाट खेती जोगाउन हैरानी खेप्दै आइरहेको अवस्थामा कफीखेती किसानमाझ लोकप्रिय बन्दै गएको हो । साथै प्रधानमन्त्री तथा कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले किसानलाई व्यावसायिक रुपमा कफीखेती गर्न प्रेरित गर्दै आएको छ । परियोजनाले किसानलाई कफीको उत्पादन गर्ने तरिका र त्यसको महत्व तथा फाइदाका बारेमा जानकारी गराउँदै कफीखेतीका लागि बिरुवा, मल, नेटजालीलगायत सामग्री उपलब्ध गराउन थालेपछि त्यहाँका किसानलाई कफीखेती गर्न थप सजिलो भएको छ । मकै कोदोजस्ता परम्परागत खेती गर्दै आएका किसानका लागि कफीखेतीले थप आशा जगाएको छ ।

कफी खेतीका लागि सिर्सेनीमा ३० घरधुरी मिलेर तीनधारे कफी उत्पादन कृषक समूह गठन गरेका छन् । चार वर्षअघि गठन भएको उक्त समूहमार्फत सिर्सेनीका प्रत्येक घरधुरीमा व्यवसायिक रुपमा कफीखेती सुरु गरिएको छ । त्यहाँका प्रत्येक किसानको बारीमा ५० देखि २ हजारसम्म कफीका बोट छन् । चार वर्षअघि रोपेका बोटले फल दिन सुरु गरिसकेको सिर्सेनी टोरेटाका किसान मेघलाल अर्यालले बताए । त्यस क्षेत्रमा सबैभन्दा धेरै कफी लगाउने अर्यालको बारीमा यतिबेला दुई हजारभन्दा बढी कफीका बोट छन् । उनी भन्छन्, “विगतमा मकै र कोदो रोप्दै आएका बारी अहिले सबै कफीले ढपक्क ढाकेको छ । दश रोपनी जग्गामा सबैै कफी लगाएको छु, मैले कफी लगाएपछि अरू किसानलाई पनि उत्प्रेरणा जागेको छ ।” अर्याल जस्तै अर्का कफी कृषक शशिधर अर्यालले पनि अन्य खेतीको तुलनामा कफीखेतीले किसानमा नयाँ आशा जगाएको बताए ।

प्रधानमन्त्री तथा कृषि आधुनिकीकरण परियोजनाका प्रमुख गङ्गाकुमारी पोख्रेलले व्यावसायिक रुपमा कफीखेतीको विस्तारका लागि कार्यालयका तर्फबाट किसानलाई बिरुवा, मल, सिँचाइ, छहारी व्यवस्थापन, नेटजालीलगायत सामग्रीका लागि अनुदान उपलब्ध गराउँदै आएको बताइन् । साथै परियोजनाले किसानलाई कफी पाठशालामार्फत समय–समयमा प्राविधिक ज्ञान उपलब्ध गराउदै आएको छ । जिल्लामा कफीखेतीमा किसानको आकर्षण बढे पनि समय–समयमा कफीमा देखिने गरेको सेतो गबारो, ढुसी, डढुवा आदिका कारण कफीका बोटमा क्षति पुग्ने गरेको किसानको गुनासो छ । कफी उत्पत्तिको जननी जिल्ला भनेर चिनिने गुल्मीमा अहिले २४१ हेक्टर क्षेत्रफलमा कफीखेती गरिँदै आएको छ ।

जिल्लामा कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री तथा कृषि आधुनिकीकरण परियोजना, कफी विकास केन्द्र आँपचौर, कफी अनुषन्धान केन्द्र भण्डारीडाँडा, स्थानीय तहलगायत कार्यालयले कफीखेतीको क्षेत्रमा काम गर्दै आइरहेका छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours