अखिल नेपाल टेबल टेनिस संघको चुनाव भदौ १५ मा

०२ भदौ, काठमाडौं । लामो समयदेखि रोकिएको अखिल नेपाल टेबल टेनिस संघको चुनाव भदौ १५ गते हुने भएको छ । अन्योलमा लामो समय झुलेको टेबल टेनिस संघले अन्ततः चुनावी प्रक्रियामा जाने भएको हो ।

राष्ट्रिय खेलकुद परिषद्‌बाट बनाइएको चुनावी कार्यसमितिले चुनावको मिति टुंगो लगाएको हो । खेलकुद विकास विभाग प्रमुख सरोजकुमार पोखरेल, संघसंस्था शाखा प्रमुख चन्द्रकुमार राई र कानुन शाखा प्रमुख नारायणराज अर्यालसहितको ३ सदस्यीय चुनावी समिति गठन भएको थियो ।

बारम्बार तदर्थ समिति बनाउँदासमेत टेबल टेनिस संघको चुनावको मिति घोषणा हुन नसक्दा हाल राखेपले नै चुनावी समिति गठन गरेको हो । सोही समितिले आएका विवादलाई पन्छाउँदै संघको चुनावको मिति घोषणा गरेको हो ।

तदर्थ समितिको ३ पटकसम्म म्याद थप्दासमेत चुनाव गराउन नसकेपछि टेबल टेनिस संघ कार्यसमिति बिना रिक्त अवस्थामा रहेको थियो । २०७३/७४ सालमा चुनावी प्रक्रिया अगाडि बढ्दा विवाद भए पछि रोकिएको टेबल टेनिस संघको चुनाव अन्ततः हुने भएको छ ।

संघलाई नियमित बनाउन चुनाव अपरिहार्य रहेको हुँदा चुनाव गराउन लागिएको चुनावी कार्यसमितिका सदस्य चन्द्रकुमार राईले अनलाइनखबरलाई जानकारी दिए । ‘सबै प्रक्रिया पूरा गरी हामीले टेबल टेनिस संघको चुनाव भदौ १५ गते हुने गरी निश्चित गरेका छौं’, उनले भने ।

You May Also Like

More From Author

+ There are no comments

Add yours