आयुर्वेद सेवामा आकर्षण बढ्दै

०२ भदाै, काठमाडाैं । तनहुँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँले एक वर्षमा २६ हजार छ सय ८४ सेवाग्राहीलाई सेवा प्रदान गरेको छ । कार्यालयले गत आर्थिक वर्षमा उक्त सङ्ख्यामा सेवाग्राहीलाई सेवा प्रदान गरेको हो ।

आयुर्वेद सेवाप्रति जिल्लामा सर्वसाधारणको आकर्षण बढ्दै गएको आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ । कार्यालयले आव २०७९\८० मा भन्दा गत आवमा सात हजार चार सय ६७ बढीले सेवा लिएको कार्यालयका आयुर्वेद चिकित्सक डा नारायण श्रेष्ठले बताए ।

बहिरङ्ग (ओपिडी) नौ हजार दुई सय ७१, ज्येष्ठ नागरिक सेवा एक हजार छ सय २४, योग आठ हजार तीन सय ४३, पञ्चकर्म तथा पूर्वकर्म पाँच हजार पाँच सय १३, स्तनपायी आमालाई मातृशिशु सुरक्षार्थ दुग्धवद्र्धक सेवा दुई सय ८१, क्षार सूत्र १७, प्रयोगशाला सात सय ६३ र फिजियोथेरापी आठ सय ७२ जनाले लिएको उनले जानकारी दिए ।

जिल्लाका चार ठाउँमा नागरिक आरोग्य केन्द्र विस्तार भएको छ । डा श्रेष्ठका अनुसार बन्दीपुर गाउँपालिका–१ मा डुम्रे, घिरिङ गाउँपालिका–५ मा घिरिङ, देवघाट गाउँपालिका–५ मा देवघाट र आँबुखैरेनी गाउँपालिका–१ मा आँबुखैरेनी नागरिक आरोग्य सेवाकेन्द्र सञ्चालनमा आएका छन् ।

जिल्लाका तीन पालिकामा अझै पनि आयुर्वेद स्वास्थ्य सेवा पु¥याउन नसकिएको उनको भनाइ छ । “दश पालिकामध्ये देवघाट, आँबुखैरेनी र घिरिङ गाउँपालिकामा आयुर्वेद स्वास्थ्य संस्था पुगेको छैन । ती पालिकामा नागरिक आरोग्य सेवा सञ्चालनमा ल्याएका छौँ”, उनले भने ।

केन्द्रले पतञ्जली योग समितिसँग समन्वयगरी कार्यालयको योगहलमा स्वस्थ जीवन कार्यक्रम सञ्चालन गर्दै आएको छ । जिल्लाका स्थानीय तह तथा सरोकार भएकासँग निरन्तर समन्वय र सहकार्य गर्दै आयुर्वेदिक उपचार प्रणालीको प्रवर्द्धन गरिरहेको डा श्रेष्ठले बताए । कार्यालयका लागि सात जनाको स्वीकृत दरबन्दी रहेकामा हाल पाँच जना कार्यरत छन् । उनका अनुसार केन्द्रमा ढाड दुख्ने समस्या भएका बिरामीलाई लक्षितगरी थेरापी मेसिन सञ्चालन गरिएको छ ।

गण्डकी प्रदेश सरकारको सहयोगमा कार्यालयले थेरापी मेसिन खरिद गरेर सञ्चालनमा ल्याएपछि ढाड दुख्ने समस्या भएका बिरामीको सङ्ख्या बढेको केन्द्रका डा श्रेष्ठले उल्लेख गरे । “आयुर्वेद उपचारमा उपयोगी पञ्चकर्म, फिजियोथेरापी तथा क्षारसुत्रका साथै रोग अनुसार दैनिक योग पनि सञ्चालन गरिरहेका छौँ”, उनले भने, “आयुर्वेदिक स्वास्थ्य सेवाप्रति सर्वसाधारणको आकर्षण बढेसँगै कर्मचारीको सीप, उत्साह र जाँगरमा वृद्धि हुँदै गएको छ ।”

विसं २०५२ मा स्थापित आयुर्वेद स्वास्थ्य केन्द्रले रोग निदानात्मक, उपचारात्मक, स्वास्थ्य प्रवर्द्धनात्मक, रोग रोकथाम र स्वास्थ्य परामर्शका कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । प्रदेश निर्देशनालयले आयुर्वेद संस्थाको अनुसन्धानगरी दरबन्दी थप गर्नुपर्ने, चारपाङ्ग्रे सवारीसाधनको व्यवस्था गर्नुपर्ने, औषधि खरिद गर्न बजेट वृद्धि गर्नुपर्नेमा डा श्रेष्ठले जोड दिए ।

You May Also Like

More From Author

+ There are no comments

Add yours