थिन्लेलाई लोकार्नोमा उत्कृष्ट अभिनेत्रीको अवार्ड

निर्माता भन्छन्- उदीयमान नेपाली कलाकारलाई प्रेरणा

०१ भाद्र, काठमाडौं । अभिनेत्री थिन्ले ल्हामोले फिल्म ‘शाम्बाला’को मुख्य भूमिकाको लागि स्विट्जरल्याण्डको प्रसिद्ध लोकार्नो फिल्म फेस्टिभलमा ‘बोक्कालिनो डिओर’ अवार्ड जितेकी छन् ।

युरोपभरका फिल्म समीक्षकले उत्कृष्ट अभिनय गर्ने कुनै एक कलाकारलाई उक्त अवार्ड प्रदान गर्छन् । कुनै दक्षिण एसियाली कलाकारले यो क्रिटिक अवार्ड जितेको पहिलोपटक हो ।

‘शाम्बाला फिल्मको मुुख्य कलाकार थिन्लेले प्रतिष्ठित अवार्ड जितेको घोषणा गर्न पाउँदा हामी निकै रोमाञ्चित र गौरवान्तित भएका छौं’ बोक्कालिनो डिओर अवार्डका अध्यक्ष र निर्देशकले प्रदान गरेको पत्रमा उल्लेख छ ।

‘एक्लै उनले फिल्मलाई काँधमा बोकेको छिन्, यो आधारमा उनलाई महान अभिनेत्री मान्न सकिन्छ । यस्तो एउटा आदिवासी विश्व जहाँ पुरुषले आफूलाई प्रधान ठान्छन्, यसलाई चुनौति दिँदै थिन्ले ल्हामाले महाकाव्यमार्फत आफ्नो स्वतन्त्रता हासिल गर्न सक्षम भएकी छन्’ पत्रमा भनिएको छ ।

उनलाई ‘उत्कृष्ट अभिनय प्रस्तुति’ विधामा अवार्ड प्रदान गरिएको हो ।

फिल्म ‘शाम्बाला’ले जितका लागि अभिनेत्री ल्हामोलाई बधाइ दिएको छ । विज्ञप्ति जारी गर्दै निर्देशक भामसहित निर्माताको समूहले थिन्लेले यो अवार्ड जित्नु अभिनयको सम्मान मात्र नभएर नेपालका प्रतिभाशाली र उदीयमान कलाकारका लागि समेत प्रेरणा प्रदान गर्ने महत्वपूूर्ण क्षण रहेको बताएका छन् ।

‘यो अवार्ड नेपाली कलाकारले जित्नुुको अर्थ फिल्मको विश्वव्यापी मञ्चमा दक्षिण एसियाको बढ्दो प्रभावको उदाहरणका रुपमा लिन सकिने विश्वास हामीले गरेका छौं’ निर्देशक भामले भनेका छन्, ‘यो सफलता हामी नेपालका फिल्मकर्मी, हिमाली क्षेत्रका प्रेरणादायी, सवल र ऊर्जाशील महिला र विश्व समुुदायप्रति समर्पण गर्न चाहन्छौं ।’

लोकार्नो फिल्म फेस्टिभलको अवार्ड घोषणा भने नेपाली क्यालेन्डरअनुसार शनिबार मात्र आयोजना हुँदैछ । ‘शाम्बाला’ले लोकार्नोको पियाजा ग्राण्डे विधामा प्रतिस्पर्धा गरिरहेको छ । यो फिल्म नेपालमा भदौ २८ गते प्रदर्शन तयारीमा छ ।

थिन्लेको कुरा गर्दा, ‘नाका’पछि ‘शाम्बाला’ उनको दोस्रो कथानक फिल्म हो । बर्लिन फिल्म फेस्टिभलमा विश्व प्रिमियर भएको ‘शाम्बाला’ले उनलाई विश्वब्यापी चर्चा दिलाएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours