फूलपाती भिडन्तः इगोको लडाइँ कि विदाको लोभ ?

३२ साउन, काठमाडौं । नेपाली निर्मातालाई कुनै चीजको सबैभन्दा बढी लोभ छ भने त्यो विदाको हो । क्यालेन्डरमा रातो देखेपछि लोभ जागिहाल्छ । अनि हानाथाप सुरु हुन्छ । दशैं र तिहार विदामा त सानोतिनो युद्ध नै देखिन्छ । अघिल्लो दशैंमा फिल्म रिलिज व्यवस्थित नै थियो । एउटै मितिमा भिड्न खोजेका ‘भष्मे डन’ र ‘परदेशी २’ पछि सहमतिमा रिलिज भए । तर, यसपालि सहमतिको वातावरण बन्ने देखिँदैन ।

घटस्थापना (असोज १७)मा दुई फिल्म ‘बेहुली फ्रम मेघौली’ र ‘सानो संसार’ प्रदर्शनमा आउँदैछन् । यतिबेला एउटा मितिमा दुईवटा फिल्म घरेलु बजार र हलले धान्न सक्ने अवस्था भएकाले यी दुई फिल्मको भिडन्तलाई सामान्य रुपमै हेरिएको छ । तर, फूलपातीमा भने नेपाली र विदेशी फिल्मको ओइरो लाग्दैछ । नेपाली तीनवटा आउँदैछन् भने विदेशी दुईवटा रिलिज हुने निश्चित भैसकेको छ ।

सम्भवतः फूलपातीतिर हलिउड फिल्म ‘जोकर २’ नेपालमा रिलिज हुन सक्नेछ । यसको विश्वव्यापी रिलिज असोज १८ गते भए पनि नेपालमा केही दिन ढिलो हुन सक्छ । यो सर्वाधिक प्रतिक्षा गरिएको हलिउड फिल्म भएकाले यसको असर फूलपातीको अघिपछि आउने नेपाली फिल्महरुलाई पर्ने निश्चित छ । फूलपातीमा साउथ फिल्म ‘कंगुवा’ पनि आउँदैछ । यसको प्रभाव ठूलै देखिन सक्छ ।

दुई ठूला विदेशी फिल्म दशैंमा आउन लागेको समयमा फूलपाती (असोज २४)मा तीन नेपाली फिल्म ‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’बीच भिडन्त हुँदैछ । यी तीनवटै फिल्मले एकअर्कालाई ठूलो असर गर्नेमा दुईमत छैन । किनकि, फिल्म धेरै हुँदा हल र दर्शक बाँडिन्छन् । त्यसमाथि दुई ठूला विदेशी फिल्मले चुनौती दिँदैछन् । यद्यपि, दशैं विदाको फाइदा तीनवटैले उठाउन सक्छन् ।

फूलपातीको त्रिपक्षीय भिडन्तले ठूलो असर ‘छक्का पञ्जा ५’लाई पुग्ने आँकलन कतिपयको छ । किनभने, यो बक्स अफिसमा रेकर्ड बनाउन सक्ने फिल्म हो । दशैं विदा एकलौटी मिलेको भए ‘कबड्डी ४’को २२ करोडको रेकर्ड तोडिन सक्थ्यो । तर, यसपटक दुई ठूला विदेशी फिल्मसँगै ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ले ‘छक्का पञ्जा ५’लाई ठूलो अंक जोड्नबाट रोक्न सक्ने सम्भावना प्रवल देखिन्छ ।

यी तीन फिल्म एकै मितिमा भिड्ने अवस्था आउनुमा दशैं विदा र इगो दुईवटै कुराले काम गरेको देखिन्छ । एक त दशैं विदा लामो छ । दशैंमा व्यापार पनि राम्रो हुन्छ । त्यसैले रिलिजको चाप देखिनु स्वभाविक नै हो । तर, ‘छक्का पञ्जा ५’सँग ‘ज्वाइँ साब’ भिड्न लाग्नुमा दीपक-दीपा समूह र जितु नेपालबीचको इगो महत्त्वपूर्ण मानिएको छ । किनकि, उनीहरुबीच अहिले हार्दिक सम्बन्ध छैन ।

जितुले आफ्नो शोबाट दीपाश्री निरौलालाई हटाएपछि उनलाई ‘छक्का पञ्जा’ समूहबाट हटाइएको थियो । अब त्यसको बदला फिल्म जुधाएर तिर्ने मनस्थितिमा जितु देखिन्छन् । फूलपातीमा ‘ज्वाइँ साब’लाई रिलिज गर्न उनी आफैंले चासो देखाएको स्रोत बताउँछ । ‘छक्का पञ्जा ५’ र ‘ज्वाइँ साब’का वितरकबीचको इगोले पनि भिडन्तको वातावरण बनेको चर्चा यतिबेला फिल्मवृतमा भैरहेको छ ।

‘ज्वाइँ साब’ले रिलिज तोकेकै दिन अभिनेता विराज भट्टले फूलपातीलाई ‘१२ गाउँ’को प्रदर्शन मिति तय गरेका थिए । यो फिल्म पनि आउने भएपछि ‘छक्का पञ्जा ५’ र ‘ज्वाइँ साब’का निर्माता तनावमा देखिएका छन् । किनकि, अब सिंगल हल र मल्टीप्लेक्समा शो धेरै बाँडिन्छ । र, त्यसको असर व्यापारमा पर्नेछ । अब यो त्रिपक्षीय भिडन्तमा कसको पल्ला भारी हुने हो, त्यो हेर्न रोचक हुनेछ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours