२२ करोड पुँजी लगानीमा पाल्पामा थपिए ९७ उद्योग

३२ साउन, काठमाडाैं । पाल्पामा आर्थिक वर्ष २०८०\८१ मा ९७ वटा नयाँ उद्योग थपिएका छन् । जसमा उत्पादनमूलक आठ, कृषि तथा पशुपालन ४४, पर्यटन ३०, सेवासम्बन्धी १५ गरी ९७ वटा उद्योग दर्ता भएका हुन् ।

दर्ता भएका उद्योगमध्ये ‘प्राइभेट फार्म’ ९३ र साझेदारी फार्म चारवटा छन् । गतवर्ष ४३ महिला र ६० पुरुष गरी एक सय तीन जना उद्यमी थपिएका छन् । एक सय ८० महिला र दुई सय २७ पुरुष गरी चार सय सात जनालाई रोजगारी सिर्जना भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।

एक वर्षमा कार्यालयमा दर्ता भएका उद्योगमा रु २१ करोड ९८ लाख बराबरको पुँजी लगानी र सो उद्योगबाट १५ लाख ६४ हजार पाँच सय रुपैयाँ बराबरको कुल राजश्व प्राप्त भएको उद्यम विकास सहजकर्ता मनोज घिमिरेले जानकारी दिए । उनका अनुसार गत आवमा चार सय ८३ उद्योगको नविकरण, एक सय ७७ उद्योगको लगत कट्टा, ८९ उद्योग पुँजी वृद्धि, ३३ उद्योगले प्रतिलिपि लिएको, तीनवटा उद्देश्य थप तथा परिवर्तन, नौ वटा नामसारी तथा ठाउँसारी गरिएको छ ।

कार्यालय स्थापनादेखि हालसम्म जिल्लामा तीन हजार आठ सय १७ उद्योग दर्ता भएका थिए । जसमध्ये उत्पादनमूलक छ सय पाँच, कृषि तथा पशुपालनसम्बन्धी एक हजार तीन सय ६८, पर्यटनसम्बन्धी एक हजार ३३ छन् ।

सोही आवमा वाणिज्य फार्म ९१ वटा दर्ता भएका छन् । जसमध्ये किराना र खाद्यान्नसम्बन्धी २७, हार्डवयर आठ, फेन्सी तथा कपडा १४, कस्मेटिक तथा जुत्ता १०, मदिरा तथा सुर्तिजन्य चार, भाँडाकुँडा तथा एलपि ग्याँससम्बन्धी दुई, कृषिसम्बन्धी दुई, सुनचाँदी चार, फर्निचर र फर्निसिङ्ग दुई, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स छ र अन्य १२ रहेका छन् । दर्ता भएका यी वाणिज्य फार्ममा रु १८ करोड १२ लाख बराबरको कुल पुँजी लगानी रहेको छ भने रु २१ लाख ३६ हजार सात सय कुल राजश्व प्राप्त भएको छ ।

गत आर्थिक वर्षमा छ सय ८९ वटा वाणिज्य फार्म नविकरण, एक सय ८६ लगतकट्टा, एक सय ५० पुँजी वृद्धि, ५१ वटा प्रतिलिपि, उद्देश्य थप र परिवर्तन २६, नामसारी र ठाउँसारी १० वटा रहेका छन् । गत आर्थिक वर्ष सम्ममा दर्ता भइ सञ्चालनमा रहेका फार्मको सङ्ख्या चार हजार तीन सय ३३ रहेका छन् । उद्योगतर्फ तीन हजार आठ सय १७ गरी कुल आठ हजार एक सय ५० फार्म रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । आव २०७९र८० मा एक सय ४३ उद्योग खारेज भएका थिए । उद्योगतर्फ एक सय ४३ र वाणिज्यतर्फ एक सय ९४ फर्म खारेज भएका हुन् । आव २०७८र०७९ मा एक सय ८८ उद्योग र दुई सय ३९ फार्म खारेजी भएका थिए ।

जिल्लामा उद्योग व्यवसायदर्ता गर्ने भन्दा खारेजी गर्नेको सङ्ख्या बढ्दै गएको छ । पाँच लाख सम्मको लगानीका उद्योग तथा व्यवसाय दर्ताको अधिकार स्थानीय तहलाई भएकाले व्यवसायीले घरेलु तथा साना उद्योग कार्यालयमा बन्द गरेर स्थानीय तहमा दर्ता गर्ने गरेका छन् ।

कृषि तथा पशुपालनमूलक, पर्यटन उद्योग बढी मात्रामा खारेजी भएका छन् । आर्थिक मन्दीलगायत कारणले उद्योग व्यवसाय खारेजी भएका हुन् । घरेलु तथा साना उद्योग कार्यालयमा उद्योग दर्ता गर्दा साधारण नागरिकलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ भने दलित, महिला र अपाङ्गता भएकालाई ७५ प्रतिशत छुट सुविधा उपलब्ध छ ।

प्रदेश सरकारले जारी गरेको कानुन बमोजिम पाँच लाख रुपैयाँ भन्दा कम पुँजीलगानी भएका उद्योग तथा वाणिज्य फार्म स्थानीय तहबाट नियमन गर्ने व्यवस्था भएकाले यस कार्यालयमा दर्ता भई सञ्चालनमा आएका उद्योग, व्यवसाय लगत कट्टा गरिन थालिएको हो । कार्यालयले सम्बन्धित उद्योगी, व्यवसायीलाई दोहोरो करको मारमा नपरुन् भनी जानकारी गराउँदै आएको छ ।

घरेलु कार्यालयसँग लघु, घरेलु तथा साना उद्योग मात्र दर्ता गर्न पाउने अधिकार छ । दश करोड रुपैयाँ सम्म पूँजी भएका उद्योगलाई साना उद्योग, दश करोडदेखि २५ करोडसम्म पूँजी भएका उद्योगलाई मझौला र २५ करोडदेखि माथिकालाई ठूला उद्योगका रुपमा वर्गीकरण गरिएको छ । दश करोड माथिका पुँजी भएमा उद्योग विभागमा पुगेर दर्ता गर्नुपर्ने प्रावधान छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours