गरे के हुन्न ? ठेक्का रकमभन्दा ५ प्रतिशत कममै सकियो भवन निर्माण

३१ साउन, काठमाडाैं । अधिकांश भौतिक पूर्वाधार निर्माणमा देखिने समस्या हो– विभिन्न बहानामा समयमा काम नसक्ने अनि त्यसकै बहानामा लागत रकम बढाउने ।

अनेक बहानाबाजी गर्दै निर्धारित समयमा काम नसक्ने र बजेट वृद्धि गर्नुपर्ने नियतिका बीच एक ठेकेदार कम्पनीले भने निर्धारित समयमै काम सकेको छ, त्यसमा पनि सम्झौता गरेको बजेटभन्दा ५ प्रतिशत कम भुक्तानी लिएर ।कर्णाली प्रदेशको सुर्खेतमा बनाइएको हुलाक निर्देशनालयको भवन सम्झौतामा उल्लेख गरिएभन्दा ५ प्रतिशत कम बजेटमा निर्माण सकाइएको हो ।

निर्देशनालयका लेखापाल उमाकान्त कँडेलले सम्झौताभन्दा ५ प्रतिशत कम बजेटमा भवन निर्माण भएको बताए ।‘श्रीखण्डपुर–अर्विड जेभी काठमाडौँले २०७९ माघ २३ गते ५ करोड ५२ लाख रुपैयाँमा भवन निर्माणको सम्झौता गरी २०८१ असार २४ गते सम्पन्न गर्ने जिम्मा लिएको थियो,’ उनले भने, ‘तोकिएको मितिमै ५ प्रतिशत कम बजेटमा निर्माण भएको छ ।

’सुर्खेतका धेरै सरकारी भवन उपत्यका नगर विकास समितिको जग्गामा बने पनि निर्देशनालयको भवन ७०२ दशमलव ६६ वर्गमिटर क्षेत्रफलको आफ्नै जग्गामा बनेको छ ।

तोकिएको बजेटबाट ५ प्रतिशत अर्थात २७ लाख रकम बचाएर भवन बनेको उनले जनाए ।प्रदेश सरकार गठन भएपछि २०७४ सालमा हुलाक निर्देशनालय सुर्खेतको भवन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रुपान्तरण गरिएको थियो । त्यसपछि हुलाक निर्देशनालयको कामकाज महिला तथा बालबालिका कार्यालयबाट गरिँदै आएको हुलाक निर्देशक रेखा गौतमले जानकारी दिइन् ।वीरेन्द्रनगर नगरपालिका– ७ ईत्रामस्थित आफ्नै भवन बनेपछि हुलाक निर्देशनालय यही साउन २० गतेबाट सरेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours