काभ्रेमा वन्यजन्तुबाट बाली जोगाउनै धौ

२९ साउन, काभ्रेपलाञ्चोक । वन्यजन्तुले बालीमा क्षति पुर्‍याएपछि काभ्रेको भुम्लु गाउँपालिका–९ का स्थानीय निवेदन लिएर वडा कार्यालय पुगेका छन् । बालीको क्षति विवरणसहित वडा कार्यालयमा स्थानीयवासी पुगेका हुन् ।

वन्यजन्तुबाट अन्नबालीमा मात्र नभइ मानिसलाईसमेत खतरा भएपछि उनीहरु वडा कार्यालय र जनप्रतिनिधिकहाँ गुनासो लिएर पुगेका हुन् । वडाध्यक्ष दलबहादुर तामाङले वन्यजन्तुबाट मान्छेकै ज्यान खतरामा परेको बताए । ‘विशेषगरी साँझ–बिहान स्यालको आतङ्कले एक्लै हिँड्नै गाह्रो हुँदै गएको छ’, उनले भने । उनका अनुसार बाँदर, स्याल, दुम्सी र बँदेलको समस्या धेरै देखिएको छ ।

कोशी पूर्वस्थित भुम्लु र चौँरीदेउराली गाउँपालिकामा मकैबालीमा बाँदरको आतंक धेरै छ । स्यालको संख्या पछिल्लो समय वृद्धि भएकाले समस्या समाधान गर्न नसकिएको तामाङले बताए । उनले यस विषयमा गाउँपालिकामा निवेदन दिएको र गाउँपालिकाको विपद् व्यवस्थापन समितिमार्फत अनुगमन गरेर क्षतिपूर्ति दिने आश्वासन प्राप्त गरेको जानकारी दिए ।

केही वर्षअघिसम्म प्लास्टिकको बन्दुक पड्काएर बाँदरलगायत वन्यजन्तु भगाउने गरे पनि अहिले टेर्न छाडेको स्थानीय रमेश खरेल बताउँछन् । हाल भुम्लु गाउँपालिकाको १, २, ३, ४, ९ र १० वडाका खेतबारीमा बँदेल पसेर अन्नबालीमा क्षति पु-याइरहेको स्थानीयको भनाइ छ ।

गत चैतमा काभ्रेपलाञ्चोककै पनौती नगरपालिका–५ सुब्बा गाउँको खेतमा रोपिएको आलुखेतीमा बँदेलले क्षति पुर्‍याएपछि स्थानीयले राति खेतमै बास बसेर कुरेको स्थानीय बुद्धिबहादुर थापाले बताए । मल र बीउको अभावमा रोपिएको आलु क्षति हुँदा यहाँका किसान मारमा छन् ।

गतवर्ष पनौती नगरको कुशादेवी क्षेत्रमा बाँदरले स्थानीयलाई दुःख दिएको थियो । २०८० असारमा मण्डनदेउपुर नगरपालिका–९ स्थित रायोबारीमा चितुवाले योग गंगा वाइल्ड एण्ड च्याटल फार्मका ३५० कालिज मारेको थियो । सोही समयमा नगरको १ नं वडास्थित नगरकोट हलेदेमा बँदेलले सयौँ रोपनी जमिनको मकै सखाप पारेको थियो ।

बँदेलबाट अन्नबाली जोगाउन स्थानीय रातभरी आलोपालो कुरुवासमेत बस्ने गरेका छन् । स्थानीय दीपक बस्ताकोटीका अनुसार बँदेल आतङ्कले गाउँलेसमेत घरमा बस्न डराउँछन् । अघिल्लो वर्ष नगरको १२ वडामध्ये ८ र ९ बाहेक सबै वडामा बाँदरले अन्नबालीमा क्षति पुर्‍याएको थियो ।

त्यसवर्ष नगरले पहिलो चरणमा १२ नं वडाका स्थानीयलाई बाँदर धपाउने १५ थान यन्त्र उपलब्ध गराएको थियो । पाँचखाल नपा–१३ कोशीदेखाका बासिन्दा पाँच वर्षदेखि बँदेल र बाँदर आतंकबाट आजित छन् ।

स्थानीय यमलक्ष्मी थपलियाले बँदेल र बाँदरले कटहर र अदुवाबाहेक सबै खाने गरेको गुनासो गरे । स्थानीय जनप्रतिनिधिसँग दुःखेसो पोखेपनि समाधानको उपायबारे सहयोग नपाएको थपलियाको भनाइ छ । बनेपा नगपालिका–३ काँक्रेका किसान गोकुल बजगाईं वन बाक्लिँदा जंगली जनावर बढ्दै गएको बताउँछन् । उनी भन्छन्, ‘वनमा बँदेलको सङ्ख्या बढ्दा आलुलगायतका खेतीबाली नष्ट हुँदै गइरहेका छन् ।’

स्थानीय शिक्षक तुलाप्रसाद दाहालले बँदेल भगाउन बारीमा रेडियो बजाएर राखेको अनुभव सुनाउँछन् । धुलिखेल नगरपालिका–१ देवीटारकी किसान सरस्वती घोरासैनी दुम्सीको क्षतिबाट हैरान छन् । ‘दुम्सीले बारीको काँक्रो र तरकारीका बोटनै सखापै पार्छ, अहिले पनि बालीमा क्षति पु-याउँछ कि भन्ने जोखिम छ’, उनले भने ।

डिभिजन वन कार्यालय धुलिखेलका अधिकृत न्हुच्छे श्रेष्ठले जिल्लाका अधिकांश वनभित्र बँदेलको संख्या वृद्धि भएकाले किसानसँगद्वन्द्व बढेको बताए । उनले भने, ‘नीतिमै परिवर्तन नगरेसम्म जंगली जनावरको आतंक न्यूनीकरण गर्न सकिँदैन ।’

उनका अनुसार कार्यालयसँग वन्यजन्तु न्यूनीकरणका लागि कुनै योजना नभएपनि क्षतिपूर्ति दिने काम भइरहेको छ । गएको १४ वर्षमा जिल्लामा जंगली जनावरको आक्रमणबाट १४ जनाको मृत्यु र ६ जना घाइते भएका छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours