यातायात कार्यालय मलङ्गवाद्वारा छ करोड बढी राजस्व सङ्कलन

२९ साउन, काठमाडाैं । यातायात व्यवस्था कार्यालय मलङ्गवाले गत आर्थिक वर्ष २०८०\८१ मा छ करोड रुपैयाँ बढी राजस्व सङ्कलन गरेको छ । गत आवमा यस कार्यालयले छ करोड ३६ लाख ५८ हजार ९१ रुपैयाँ बराबरको राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख राकेशकुमार यादवले जानकारी दिए। उनका अनुसार यस कार्यालयमा भाडाका सवारीबाट आयकरबापत १४ लाख १५ हजार पाँच सय रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

यस्तै पटके, रुट परमिटलगायत कारबाहीबाट दुई लाख ९२ हजार आठ सय ४० रुपैयाँ, चालक अनुमतिपत्र र सवारी दर्ता किताब नवीकरणबापत एक करोड ४६ लाख ३८ हजार तीन सय १५ रुपैयाँ सङ्कलन भएको कार्यालय प्रमुख यादवले बताए । सवारीसाधन करबाट चार करोड ७३ लाख ११ हजार चार सय ३६ रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको हो ।

कार्यालयले गत आवको चैत मसान्तको एक दिनमा ७० लाख रुपैयाँ बढी राजस्व सङ्कलन गरेको थियो । समयमै सवारी किताब नवीकरण नगरेका तथा सवारी कर नतिरेका सेवाग्राहीलाई मधेस प्रदेश सरकारले जरिवाना रकम मिनाहा गरेको थियो । जरिवाना मिनाहासम्बन्धी ढिला गरेर जानकारी पाएका सेवाग्राहीको राति १२ बजेसम्म मलङ्गवा कार्यालयमा भीड लागेको थियो । उक्त दिन ७० लाख रुपैयाँ बढी राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख यादवले बताए ।

“हामीले चैत मसान्तमा एकै दिन ७० लाख रुपैयाँसम्म राजस्व सङ्कलन गरेका थियौँ”, उनले भने, “राति १२ बजेसम्म कार्यालयमा बसेर सेवा दिएका थियौँ । जेठ ४ गतेबाट चालक अनुमतिपत्र परीक्षा (ट्रायल) समेत सुरु गरेका छौँ । यसले सेवाग्राहीलाई थप सुविधा पुगेको छ भने राजस्व सङ्कलन दायरा फराकिलो भएको छ ।” विसं २०८० साल मङ्सिर २७ गते स्थापना भई यस कार्यालयले सेवा प्रारम्भ गरेको हो ।

हरिवन नगरपालिका–३ निवासी रमा कोइरालाले यातायात सेवा कार्यालयको सेवा प्रभावकारी भएको जानकारी दिए । यसभन्दा अगाडि यातायातसम्बन्धी सेवाका लागि यहाँका सेवाग्राहीलाई वीरगञ्ज, जनकपुर, बर्दिबाससम्म धाउनुपर्ने बाध्यता थियो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours