लन्डनस्थित नेपाली दूतावासको एडभाइजरी: हुलदंगा भएका क्षेत्रमा नेपाली नागरिकलाई नजान आग्रह

२८ साउन, लन्डन । बेलायतमा पछिल्लो केही दिनदेखि हुलदंगा र प्रदर्शन भइरहेका क्षेत्रमा नजान लन्डनस्थित नेपाली दूतावासले यहाँका नेपालीलाई आग्रह गरेको छ।

दूतावासले मंगलबार एक अपील जारी गर्दै बेलायतमा रहेका एवं बेलायत भ्रमण गर्न लागेका सबै नेपाली नागरिकलाई हुलदंगा भएको स्थानमा भ्रमण नगर्न तथा प्रदर्शनमा सहभागी नहुन अनुरोध गरेको हो।

दूतावासले आवश्यक सुरक्षा सतर्कता अपनाउन एवं स्थानीय सञ्चारमाध्यम तथा सुरक्षा निकायले जारी गरेको सूचनाहरु ध्यानपूर्वक पालना गर्न पनि अनुरोध गरेको छ।

त्यस्तै, बेलायतस्थित नेपाली संघ संगठनहरुलाई समेत आफ्नो संस्था-समुदायमार्फत नेपाली नागरिकहरुलाई सुरक्षा सतर्कता अपनाउने सम्बन्धमा जानकारी गराउन एवं समन्वय गर्न दूतावासले आव्हान गरेको छ।

बेलायतमा विकसित वर्तमान परिस्थितीलाई नजिकबाट नियालिरहेको दूतावासको भनाइ छ।

दूतावासले कुनै सहयोग आवश्यक परेमा निम्नानुसारको टेलिफोन नम्बर वा इमेलमार्फत् सम्पर्क गर्न अनुरोध गरको छ।

एक साताअघि तीन जना बालिकाको ज्यान जाने गरी भएको चाकु आक्रमणपछि बेलायतका कयौं क्षेत्रमा प्रदर्शन एवम् हुलदंगा भइरहेका छन्।

आप्रवासीविरोधी ‘इंग्लिस डिफेन्स लिग’ ले ठाउँठाउँमा प्रदर्शन गरेको छ भने उसको विरोधमा समेत काउन्टर प्रदर्शनहरु भइरहेका छन्। प्रदर्शनकै वहानामा कयौं क्षेत्रमा चोरी र लुटपाट पनि हुने गरेका छन्।

You May Also Like

More From Author

+ There are no comments

Add yours