व्यवस्था तथा व्यापार कम्पनीलाई भरपर्दो र विश्वासिलो संस्थाका रुपमा विकास गरिनुपर्छ : उद्योगमन्त्री

२८ साउन, काठमाडाैं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई भरपर्दो र विश्वासिलो संस्थाका रुपमा विकास गरिनुपर्ने बताएका छन् ।

कम्पनीको सोमबार आयोजित पाँचौ वार्षिकोत्सव समारोहमा मन्त्री भण्डारीले खाद्य व्यापार कम्पनीलाई जनउत्तरदायी संस्था बनाउन सबैको ध्यान जानुपर्ने बताए । सरकार र मातहतका निकायमाथि उठेका प्रश्नको जवाफ सकारात्मक नतिजाबाट दिनुपर्नेमा जोड दिँदै उनले परिणाम दिन नसक्नेले जिम्मेवारी छाड्नुपर्ने बताए ।

“खाद्य वस्तु उपलब्धताको अभाव भएका स्थानमा कम्पनीले प्राथमिकताका साथ सेवा दिनुपर्छ”, मन्त्री भण्डारीले प्रश्न गरे,“कम्पनीले बजारमा सकारात्मक हस्तक्षेप गर्न किन सकिरहेको छैन ? किन कार्य क्षेत्र विस्तार गर्न सकिएन रु” उनले परम्परागत रुपबाट कम्पनी चल्न नसक्ने जनाउँदै व्यावसायिक कार्ययोजना बनाउन सचेत गराए ।

देशका प्रमुख स्थानमा पर्याप्त भौतिक सम्पत्ति र पूँजी तथा यथोचित जनशक्ति हुँदा पनि व्यापार र कार्यक्षेत्र बढ्न नसक्नुमा कमजोरी भएको औँल्याउँदै मन्त्री भण्डारीले कम्पनीलाई सुदृढ बनाएर लैजान व्यवस्थापन र कर्मचारीलाई निर्देशन दिए । “अब जग्गा बिक्री गरेर तलब सुविधा खाने प्रवृत्ति त्याग्नुपर्छ”, उनले भने,“देशका प्रमुख सरहमा ठूला बिक्री कक्ष राखेर व्यापार अभिवृद्धि गर्नुपर्छ ।”

कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं वाणिज्य सचिव मधुसुदन बुर्लाकोटीले व्यवस्थापन र कर्मचारीको संयुक्त प्रयासबाट मात्रै संस्था समृद्ध हुने भएकाले एकताबद्ध भएर काम गर्नुपर्ने बताए ।

कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत डिल्लीराज लम्सालले गत आर्थिक वर्षमा दुर्गम तथा सुगम जिल्लामा २९ हजार छ सय २३ मेट्रिकटन खाद्यन्न ढुवानी गरी वितरण गरिएको जानकारी दिए । रैथाने बाली संरक्षण र सम्वद्र्धनका लागि हालसम्म नौ स्थानीय तहसँग उत्पादन खरिदबिक्री सम्झौता गरिएको जानकारी दिँदै उनले कर्णाली प्रदेश सरकारको सहयोगमा रैथाने बाली प्रशोधन, प्याकिङ र मार्किङ गर्न मिलको स्थापना गरिएको बताए ।

कम्पनीले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि नियन्त्रण गर्न देशभरका ४३ जिल्लाका ४९ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरी तीन हजार तीन सय ४५ मेट्रिकटन खाद्यान्न बिक्री गरेको उनको भनाइ छ । समारोहमा उत्कृष्ट घोषित कर्मचारीलाई सम्मान गरिएको थियो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours